बारा । परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष सुगान्ती देवी कनुइनको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले सोमबार आयोजित गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले समग्र विकास, सुशासन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। कार्यक्रममा नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा महत्वपूर्ण सुझाव तथा सहयोग प्रदान गर्ने जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीयवासीप्रति आभार व्यक्त गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत रौनियारले नीति तथा कार्यक्रम निर्माणका क्रममा प्राप्त सुझावहरूले गाउँपालिकाको विकास योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी वर्षमा जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
यस अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलन, राजनीतिक परिवर्तन तथा लोकतन्त्रको सुदृढीकरणका लागि भएका विभिन्न ऐतिहासिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत स्थानीय विकासलाई तीव्रता दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको जनाएको छ।