वीरगञ्ज । वीरगञ्जस्थित रामचरण साह पन्नालाल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको छ। वडा नम्बर १० को वडा कार्यालयको पहलमा कक्षा १ देखि १० सम्म अध्ययनरत ४५० जना छात्र–छात्रालाई एक–एक जोर जुत्ता वितरण गरिएको हो।
सोमबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी लगायतले विद्यार्थीहरूलाई जुत्ता वितरण गरेका थिए। वडा कार्यालयका सचिव पवन प्रधानका अनुसार कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार र सहयोग गर्ने उद्देश्य राखिएको हो।
कार्यवाहक वडाध्यक्ष जैसीकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मिश्रा देवी नगरकोटी, विद्यालयका प्रधानाध्यापक मनोज चौहान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह कानु, वडा कार्यालयका सचिव पवन प्रधान, शम्भु साह कानु, शिवनारायण साह, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले यस्तो सहयोगले विद्यार्थीहरूमा उत्साह थपिने र विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।