×

वीरगञ्ज । जीएचपी स्कुलका विद्यार्थीहरूले अन्तरविद्यालय हिज्जे (स्पेल बी) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गौरव बढाएका छन्।

जीवन ज्योति स्कूलद्वारा आयोजित अन्तरविद्यालय स्पेल बी प्रतियोगितामा ११ वटा विद्यालयका ४४ जना प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा जीएचपी स्कुलका कक्षा ५ का विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गर्न सफल भएका हुन्।

प्रतियोगितामा कक्षा ५ का विद्यार्थी आयुष्मान साहले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भए भने सुरज साहले तृतीय स्थान प्राप्त गर्दै विद्यालयको नाम उच्च राखेका छन्।

विद्यार्थीहरूको यस उल्लेखनीय सफलताले विद्यालय परिवार, शिक्षक तथा अभिभावकहरूमा खुशीको वातावरण सिर्जना गरेको छ। प्रतियोगितामा प्राप्त उपलब्धिले विद्यार्थीहरूको मेहनत, लगनशीलता तथा विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको प्रतिफल भएको विद्यालय प्रशासनले जनाएको छ।

जीएचपी स्कुलले आयुष्मान र सुरजको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयले दुवै विजेता विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना दिएको छ।

यस सफलतासँगै जीएचपी स्कुलले अन्तरविद्यालयस्तरीय शैक्षिक प्रतियोगिताहरूमा आफ्नो उत्कृष्ट उपस्थिति पुनः प्रमाणित गरेको छ।

Back to top