सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोली र तस्करहरूबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले सिरहा नगरपालिका–२१ लकडिगोठ क्षेत्रबाट ९२.३ ग्राम ब्राउनसुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा लागूऔषधसहित फेला परेपछि तस्करको समूहले पक्राउबाट बच्न प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो। प्रहरीमाथि आक्रमण गर्दै भारततर्फ भाग्न खोजेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको जनाएको छ।
त्यसपछि पनि आत्मसमर्पण नगरेपछि प्रहरीले चलाएको एक राउण्ड गोली लागेर भारतको बिहार राज्य, मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि ढुङ्गामुढाबाट घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको बताइएको छ।
घाइते भएका रञ्जित कुमार पासवान र प्रहरी जवान ठाकुर दुवैको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।
प्रहरीले घटनास्थलबाट भारतको मधुवनी जिल्लाकै अन्दाजी १७ वर्षीय रमन कुमार पासवानलाई पनि नियन्त्रणमा लिएको छ। उनी ढुङ्गामुढा प्रहार गर्दै भाग्न खोजेको आरोपमा पक्राउ परेका हुन्।
सीमावर्ती क्षेत्रलाई ट्रान्जिट बनाएर नेपालमा प्रतिबन्धित लागूऔषध भित्र्याउने गिरोह सक्रिय रहेको आशङ्कामा पक्राउ परेका दुवै व्यक्तिविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।