चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने भएको छ।
महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद तथा नेता मनिष झाले सुरुमा करिब ३ हजार प्रतिनिधिको अनुमान गरिए पनि हाल ४ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी भएको जानकारी दिए। उनका अनुसार यो संख्या ४ हजार ५०० सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
झाका अनुसार प्रवासबाट समेत अपेक्षाभन्दा करिब चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। उनले पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै यसलाई आगामी दिनका लागि सिकाइको रूपमा लिइएको बताए।
पार्टीभित्र सहमतिको प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको उनले जानकारी दिए।
“हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौँ, तर प्रतिनिधिको ठूलो संख्या र उम्मेदवारीमा धेरैको आकाङ्क्षाका कारण १० गतेसम्म लम्बिन सक्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ,” उनले भने।
हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको पार्टीले जनाएको छ।