बारा । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले मुलुकमा संघीयताको वास्तविक मर्म स्थापित गर्न यसको पूर्ण कार्यान्वयन अपरिहार्य रहेको बताएका छन्।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा बाराको निजगढस्थित एक होटलमा सञ्चालित ‘संघीयता सबलीकरणबारे समाचार लेखन’ सम्बन्धी दुई दिने कार्यशालाको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै मन्त्री पटेलले संविधानमार्फत संघीय शासन प्रणाली लागू भए पनि सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताका कारण प्रदेश सरकारले अझै पूर्ण रूपमा अधिकार प्राप्त गर्न नसकेको बताए।
उनले राज्यका अधिकारहरू तल्लो तहसम्म विकेन्द्रित नभएसम्म सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति जनताले गर्न नसक्ने जिकिर गरे। संघीयताको सफल कार्यान्वयनका लागि संविधानले परिकल्पना गरेका अधिकारहरू व्यवहारमा पनि हस्तान्तरण हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका मुख्य प्रशिक्षक तथा राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले संघीय शासन प्रणालीलाई सबल, प्रभावकारी र जनमुखी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले संघीयताका उपलब्धि, चुनौती र भावी आवश्यकताबारे पत्रकारहरूले तथ्यमा आधारित खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्रकुमार खड्गाले संघीयताको सफल कार्यान्वयनका लागि सञ्चार क्षेत्रले रचनात्मक पहरेदारी गर्नुपर्ने बताए। आम नागरिकमा संघीयताप्रतिको सही बुझाइ विकास गर्न मिडियाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले संघीयतासम्बन्धी जटिल विषयवस्तुलाई सरल र सहज भाषामा जनस्तरसम्म पुर्याउन पत्रकारहरू थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए।
पत्रकारहरूको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै नागरिकलाई सही सूचना प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यशालामा मधेस प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका सक्रिय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाका साथै संविधानसभा सदस्य प्रल्हाद लामिछाने र डा. विनय मिश्रले संघीयता तथा मिडियाको अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका थिए।