×

चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय उल्लेख्य रूपमा लम्बिएको छ।

आज बिहान साढे ८ बजेबाट बन्दसत्र सुरू गर्ने कार्यतालिका तय भएको थियो। तर प्रतिनिधिहरूको नामावली नै टुंगो नलाग्दा तोकिएको समयमा कार्यक्रम अगाडि बढाउन समस्या उत्पन्न भएको हो। नेताहरूका अनुसार बन्दसत्र सुरू हुन अपराह्न अबेरसम्म कुर्नुपर्ने अवस्था छ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउने क्रम हाल पनि जारी छ। प्रतिनिधिहरूको नाम, थर र ठेगाना नमिलेका कारण परिचयपत्र (कार्ड) बन्न नसकेको स्थिति छ। मधेस लगायत केही प्रदेशका प्रतिनिधित्वको विषयमा पनि विवाद उत्पन्न भएको थियो।

निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। सो नामावलीमा देखिएका त्रुटिहरू अझै सुधार भइनसकेकाले प्रतिनिधिहरूको अन्तिम रूप निश्चित हुन ढिलाइ भइरहेको छ।

बन्दसत्रस्थल वरपर यतिखेर रास्वपाका प्रतिनिधिहरूको उल्लेख्य भिडभाड रहेको छ। बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम रहेको छ।

Back to top