×

फाईल फोटो

वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ मा शनिबारदेखि सुरु भएको प्रथम विरुवागुढी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सिमरा युनाइटेड र बारा ११ बीच प्रतिस्पर्धा हुने भएको छ। पर्सागढी मिनी रंगशालामा शनिबार एक विशेष समारोहबीच पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले प्रतियोगिताको उद्घाटन गरेका थिए।

नगरप्रमुख पाठकले उद्घाटन समारोहमा बोल्दै खेलकुदले समुदायलाई जोड्न र स्वस्थ जीवनशैलीको विकास गर्न सहयोग पुग्ने हुँदा यसलाई प्राथमिकतामा राखेर 'एक वडा, एक खेल मैदान' अभियान अन्तर्गत काम भइरहेको बताए।

शनिबारको उद्घाटन खेलमा रतनपुर युनाइटेड क्लब, बारा विजयी भएको छ। रतनपुर युनाइटेडले वीरगञ्ज युथ एकेडेमीलाई १–० गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो। खेलको 'म्यान अफ द म्याच' रतनपुर युनाइटेडका आनन्द चौधरी घोषित भएका छन्।

प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष राजन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष शुकमान तामाङले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन सचिव बिक्रम कार्कीले गरेका थिए।

प्रतियोगितामा स्थानीय खेलाडीहरूको प्रदर्शनले खेलप्रति उत्साह बढेको र नगरको खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

Back to top