सांकेतिक तस्वीर
सर्लाही। लागू औषध ओसारपसारको मुद्दामा पक्राउ परेका एक थुनुवा प्रहरीको हिरासतबाट भाग्न सफल भएका छन्। सर्लाही जिल्लाको हरिवनस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका वडा नम्बर ९, मुर्तियाका रामअयोधी मुखिया शनिवार राति फरार भएका हुन्।
मुखियालाई नियन्त्रणमा लिन प्रहरीले व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। स्रोतका अनुसार प्रहरीको प्रारम्भिक नियन्त्रणमा आइसके पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको बुझिएको छ। यस घटनाले सर्लाही प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको जनाउँदै स्थानीय मिडियाले चिन्ता व्यक्त गरेका छन्।
थुनुवा कक्षबाट थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत र सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा तानिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार फरार थुनुवाको खोजी तीव्र बनाइएको छ, भने घटनाको थप अनुसन्धान भइरहेको छ।
थुनुवा कक्षबाट थुनुवा भाग्न सफल भएकाले सुरक्षामा कमजोरीको आशंका गर्दै घटनाले प्रहरी संगठनमा सुधारको आवश्यकता औंल्याएको छ।