साङ्केतिक तस्बिर ।
वीरगञ्ज । भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) ले मेटालाई प्रतिस्पर्धा ऐनको उल्लङ्घन गरेको आरोपमा २५.४ मिलियन अमेरिकी डलर जरिवाना लगाएको छ । सन् २०२१ मा ह्वाट्सएपले सार्वजनिक गरेको नयाँ गोपनीयता नीतिसँग यो मुद्दा सम्बन्धित छ, जसले प्रयोगकर्ताको डेटा सङ्कलन र मेटाका अन्य कम्पनीहरूसँग साझेदारी गर्ने प्रावधान राखेको थियो ।
सन् २०२१ को गोपनीयता नीतिमा, ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई आफ्नो सेवा जारी राख्न डेटा सङ्कलन र मेटाका अन्य कम्पनीहरूसँग डेटा साझेदारी गर्ने नियमलाई स्वीकार गर्न बाध्य पार्ने व्यवस्था गरेको थियो । यसअघि, सन् २०१६ मा लागू गरिएको नीतिमा प्रयोगकर्ताहरूलाई फेसबुकसँग डेटा साझेदारी गर्ने वा नगर्ने विकल्प दिइएको थियो । तर, नयाँ अपडेटमा त्यो विकल्प हटाइएको थियो, जसलाई सीसीआईले “अनुचित सर्त” को संज्ञा दिएको छ ।
सीसीआईले आफ्नो आदेशमा मेटा (ह्वाट्सएप) लाई पाँच वर्षसम्म विज्ञापन प्रयोजनका लागि मेटाका अन्य एपहरूसँग प्रयोगकर्ताको डेटा साझा नगर्न निर्देशन दिएको छ । साथै, ह्वाट्सएप सेवा उपयोग गर्न डेटा साझेदारीलाई अनिवार्य सर्त बनाउने अभ्यास रोक्नुपर्ने उल्लेख गरेको छ ।
आयोगका अनुसार, ह्वाट्सएपको ‘टेक इट अर लिभ इट’ (स्वीकार गर वा सेवा छोड) नीति प्रयोगकर्ताहरूको स्वायत्ततालाई कमजोर बनाउँदै ठूलो प्रभाव पार्ने गरी डेटा साझेदारीका सर्तहरू लागू गरिएको थियो ।
सीसीआईले दुई वटा बजारलाई विश्लेषण गरेको छ— भारतमा स्मार्टफोनमार्फत ओटीटी म्यासेजिङ एपको बजार र अनलाइन विज्ञापन प्रदर्शनको बजार । यी दुवै क्षेत्रमा मेटाले प्रमुख स्थान ओगटेको छ । ह्वाट्सएप ओटीटी म्यासेजिङ एपको बजारमा प्रभुत्व राख्दछ भने मेटा अनलाइन विज्ञापन प्रदर्शनको क्षेत्रमा नेतृत्वदायी रहेको छ ।
सीसीआईले निष्कर्ष निकाल्दै, सन् २०२१ मा ह्वाट्सएपले आफ्नो गोपनीयता नीति अपडेट गरेर डेटा सङ्कलन र साझेदारीलाई अनिवार्य बनाउनु प्रतिस्पर्धा ऐनको धारा ४(२)(क)(१) अन्तर्गत “अनुचित सर्त” लगाउनुको उदाहरण रहेको बताएको छ । आयोगले यसलाई प्रयोगकर्ताहरूको स्वतन्त्रता माथिको अतिक्रमण र मेटाको प्रभुत्वको दुरुपयोग मानेको छ ।
निर्णयले ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि डेटा गोपनीयता र पारदर्शिताको विषयमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ । साथै, यो प्रतिस्पर्धा ऐन कार्यान्वयनमा भारतको कडा दृष्टिकोणको पनि सङ्केत हो ।
प्रतिस्पर्धा आयोगको यस कदमले डिजिटल प्लेटफर्महरूमाथि नियमनको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।