वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको आयोजना तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा नारायणी अस्पतालमा “हिमोफिलिया उपचार केन्द्र विस्तार तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकास कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममार्फत नारायणी अस्पतालमा औपचारिक रूपमा हिमोफिलिया उपचार केन्द्र (एचटिसी) स्थापना गर्नुका साथै उपचारका लागि आवश्यक औषधि हस्तान्तरण गरिएको छ।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति तथा पर्सा हेमोफिलिया सोसाइटीका अध्यक्ष प्रा. डा. दीपक शाक्यले नारायणी अस्पतालका हेमाटोलोजिस्ट डा. निरज कुमार सिंहलाई हिमोफिलिया उपचारका लागि आवश्यक औषधि हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘फ्याक्टर’ को प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण तथा डेमो समेत प्रदान गरिएको थियो।
वक्ताहरूले नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भएसँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीहरूले आफ्नै प्रदेशमा सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने बताएका थिए।
उनीहरूले यसअघि सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसबाट बिरामी र उनका परिवारले आर्थिक तथा मानसिक रूपमा ठूलो सास्ती भोग्नुपरेको बताए। अब उपचार सेवा प्रदेशमै उपलब्ध भएसँगै उक्त समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह, नारायणी अस्पतालका डा. प्रविण कुमार सिंह, हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटी, सचिव बुद्धिलाल श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुरेन्द्र शाहलगायत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
हिमोफिलिया सोसाइटी नेपालका मधेस प्रदेश उपाध्यक्ष मुन्नालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमोफिलियाबाट प्रभावित बालबालिकालाई चोटपटक लाग्न नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो। चोट लागेपछि प्रारम्भिक रूपमा चिसोपानीले सेक्ने र त्यसपछि चिकित्सकको परामर्शअनुसार उपचार गराउनुपर्ने सुझाव दिइएको थियो।
वक्ताहरूले हिमोफिलिया भएका बालबालिकाको अवस्थाबारे विद्यालयलाई जानकारी गराउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयमा खेलकुद तथा अन्य गतिविधिका क्रममा चोटपटक लाग्ने सम्भावना बढी हुने भएकाले रोग लुकाउन नहुने र नियमित रूपमा चिकित्सकीय निगरानीमा रहनुपर्ने बताएका थिए।
कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटीले प्रोजेक्टरमार्फत हिमोफिलियाबारे विस्तृत प्रस्तुतीकरण गर्दै नेपालमा अझै धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो। उहाँले आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको उल्लेख गर्दै स्थानीय तहले निःशुल्क औषधि उपलब्ध गराउने कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो।
हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको जानकारी दिँदै आगामी दिनमा सेवा विस्तार र उपचार पहुँचलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
के हो हिमोफिलिया ?
हिमोफिलिया एक वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो, जसमा शरीरमा रगत जमाउन आवश्यक ‘क्लोटिङ फ्याक्टर’ को कमी हुन्छ। यस रोगबाट प्रभावित व्यक्तिमा सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रक्तश्राव भइरहने, जोर्नी सुन्निने तथा शरीरभित्र आन्तरिक रक्तश्राव हुने जस्ता समस्या देखिन्छन्।
विशेषगरी बालबालिकामा बारम्बार नाकबाट रगत बग्ने, दाँत निकाल्दा अत्यधिक रक्तश्राव हुने, सानो चोटपटकमै शरीर निलो हुने वा जोर्नी दुख्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
वक्ताहरूले सरकार, स्वास्थ्य संस्था र समाजको संयुक्त प्रयासबाट हिमोफिलियाको समयमै पहिचान, उपचार तथा व्यवस्थापन सम्भव हुने उल्लेख गर्दै आवश्यक औषधि, उपचार केन्द्र र जनचेतनाको विस्तार भए हिमोफिलियाका बिरामीहरूले पनि अन्य नागरिकसरह सहज, सुरक्षित र उत्पादनशील जीवनयापन गर्न सक्ने बताएका थिए।