×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका २० वटा बाख्रा तथा एउटा पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित पाण्डेपुर सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरिएको हो।

सडकमा शंकास्पद रूपमा गुडिरहेको बा.प्र.०३–००१ च १४८५ नम्बरको पिकअप गाडीलाई रोकी खानतलासी गर्दा भन्सार सम्बन्धी बिल–बिजक तथा अन्य आवश्यक कागजात नभेटिएपछि गाडीमा लोड गरिएका पशुचौपाया नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका पशुचौपायामा ४ वटा खसी, १ वटा बोका र १५ वटा बाख्रा गरी जम्मा २० वटा रहेका छन्। ती पशुचौपायाको अनुमानित मूल्य करिब ३ लाख १० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

अवैध तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

बरामद गरिएका पशुचौपाया, पिकअप गाडी तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले सीमा क्षेत्र हुँदै हुने अवैध तस्करी नियन्त्रणका लागि निगरानी र जाँचलाई थप कडाइ गरिएको जनाएको छ।

Back to top