×

फाईल फोटो

वीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभावले पठनपाठन प्रभावित बनेको छ। शैक्षिक सत्र २०८१ को आठ महिना बितिसक्दा पनि शिक्षक व्यवस्थापन नहुँदा कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरू प्रभावित भएका छन्।

शिक्षक अभावका कारण प्राथमिक र निम्न माध्यमिक तहका शिक्षकहरूले उच्च कक्षाहरूमा पढाउनुपर्ने बाध्यता रहेको छ। यसले गर्दा विद्यालयहरूको नतिजा कमजोर हुँदै गएको पाइएको छ।

धोबिनी गाउँपालिका-१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका प्रधानाध्यापक विनय कुर्मीले आफ्नो विद्यालयमा नेपाली, विज्ञान, र सामाजिक विषयका शिक्षक अभाव रहेको बताए। प्रावि र निमावि तहका शिक्षकहरूबाट ती विषय अध्यापन गराइँदा विद्यार्थीको नतिजा कमजोर भएको उनले बताए। उनका अनुसार कक्षा ९ र १० का विद्यार्थीहरूले विषयगत शिक्षकको अभावका कारण एसईई परीक्षामा कम अंक ल्याउने गरेका छन्।

विन्ध्यवासिनी गाउँपालिका-३ मा रहेको रामस्वरूप रामप्रीत चौरसिया माध्यमिक विद्यालय झौवा र राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वाभाठाको अवस्था पनि त्यस्तै रहेको छ। झौवामा नेपाली र सामाजिक विषयका शिक्षकको अभाव छ भने बहुअर्वाभाठामा नेपाली र अङ्ग्रेजी विषयका शिक्षक उपलब्ध छैनन्।

पर्साका १४ वटै पालिकामा विषयगत शिक्षकको समस्या रहेको छ। वीरगंज महानगरपालिका-१६ नगवास्थित विद्यालयमा हालै विद्यार्थीहरूले प्रदर्शन गरेपछि निजी स्रोतबाट शिक्षक नियुक्त गरिएको थियो। अन्य पालिकामा भने अझै समस्या कायमै छ।

पालिकाका पदाधिकारीहरूले सामुदायिक विद्यालयमा विषयगत शिक्षक व्यवस्थापनको प्रयास भइरहेको बताउँदै आए पनि समाधान भएको छैन। पालिकाका प्रमुखहरूबाट चासो नपाइने र संघ सरकारले पर्याप्त शिक्षक उपलब्ध नगराइरहेको गुनासो प्रधानाध्यापकहरूले गरेका छन्।

विद्यार्थी, शिक्षक, र अभिभावकहरूले स्थानीय तह र संघ सरकारलाई यस समस्याको समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।

Back to top