वीरगञ्ज । वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रवेश तथा छनोट परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयले प्रत्येक वर्षझैँ यस वर्ष पनि पारदर्शी र व्यवस्थित रूपमा परीक्षा सञ्चालन गरेको जनाएको छ।
विद्यालयका अनुसार सिनियर र जुनियर विङ्समा सञ्चालित परीक्षामा एलकेजीदेखि कक्षा ८ सम्मका कुल १ हजार १४५ विद्यार्थी सहभागी भएका थिए । छात्रवृत्तिका लागि आयोजित परीक्षा शान्तिपूर्ण, अनुशासित र व्यवस्थित वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ । परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी समयमै पूरा गरिएको तथा परीक्षा केन्द्रमा उचित व्यवस्थापन मिलाइएको जनाइएको छ ।
परीक्षा केन्द्रको अनुगमन वीरगञ्ज महानगरपालिका शिक्षा समितिकी उपप्रमुख सृजना बुढाथोकीले गरेकी थिइन् । अनुगमनका क्रममा उनले परीक्षा व्यवस्थापन, अनुशासन र पारदर्शिताको प्रशंसा गर्दै विद्यालयले शिक्षा क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको बताइन् । उनले यस्ता कार्यक्रमले योग्य र आवश्यकतामा रहेका विद्यार्थीलाई अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
प्याब्सनले निर्धारण गरेको छात्रवृत्ति आरक्षण व्यवस्था अनुसार विद्यालयले विभिन्न वर्ग तथा समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । जसअनुसार जेहनदार विद्यार्थीका लागि ३७ प्रतिशत, गरिब तथा विपन्न वर्गका लागि ३७ प्रतिशत, आदिवासी तथा जनजातिका लागि १२ प्रतिशत, अल्पसङ्ख्यक, सीमान्तकृत तथा पिछडिएको क्षेत्रका लागि २ प्रतिशत, दलितका लागि ६ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ३ प्रतिशत तथा शहीद, बेपत्ता व्यक्तिका सन्तति र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते परिवारका सन्ततिका लागि ३ प्रतिशत आरक्षण व्यवस्था गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीले छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीप्रति आभार प्रकट गरे । उनले छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा जेहनदार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।