×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरका अनुसार उक्त निर्णय किशोर-किशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको हो ।

शनिवार काठमाडौँमा आयोजित ‘टिकटक सेफ्टी एम्बासडर कार्यक्रम’ मा बोल्दै जफरले टिकटकले विश्वव्यापी रूपमा नयाँ नीतिहरू लागू गर्न लागेको जानकारी दिए । उनका अनुसार किशोर-किशोरीले यस्ता फिल्टरको प्रयोगले पार्ने दीर्घकालीन मानसिक असरबारे पर्याप्त समझ राख्न नसक्ने भएकाले यस्तो कदम उठाइएको हो ।

“टिनएजका प्रयोगकर्ताहरूलाई यस्ता फिल्टरको नकारात्मक प्रभावबाट जोगाउन हामीले यो नीति विश्वव्यापी रूपमा लागू गर्दैछौं,” जफरले भने ।

के बन्द हुनेछन्?

आउँदा दिनमा १३ देखि १८ वर्षका प्रयोगकर्ताले आँखा ठूला देखिने, ओठको मोटाइ बढाउने, छालाको रंग परिवर्तन गर्ने वा अनुहारको विशेषता नै परिवर्तन गरिदिने ‘बोल्ड ग्ल्यामर’ जस्ता फिल्टर प्रयोग गर्न पाउने छैनन् । यद्यपि, रमाइला र मनोरञ्जनात्मक जनावरका कान वा कुकुरको नाक थप्न मिल्ने फिल्टर भने उपलब्ध रहनेछन् ।

मानसिक स्वास्थ्यप्रति उच्च प्राथमिकता

टिकटकले आफ्नो समुदायको मानसिक स्वास्थ्य र डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता नीतिहरू ल्याएको बताएको छ । “हामी मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउन गम्भीर छौँ,” जफरले थपे, “यसका लागि हाम्रो कम्पनीसँग छुट्टै आन्तरिक स्रोत पनि छ ।”

नेपालमा विशेष पहल

नेपाल र दक्षिण एसियामा डिजिटल सुरक्षा र सचेतनाका लागि टिकटकले आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्ने योजना सार्वजनिक गरेको छ । सेफ्टी एम्बासडर कार्यक्रममा डिजिटल साक्षरता, अनलाइन सुरक्षा, र स्वस्थ डिजिटल वातावरण निर्माणबारे कन्टेन्ट क्रिएटरहरूसँग छलफल गरिएको थियो ।

यस नीतिले विशेष गरी किशोर-किशोरीलाई डिजिटल माध्यमबाट हुने मानसिक दबाबबाट जोगाउन सहयोग पुर्‍याउने विश्वास टिकटकले व्यक्त गरेको छ ।

Back to top