×

वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटकुइयामा अध्ययनरत बाल विकासदेखि कक्षा ४ सम्मका १५६ विद्यार्थी चिसो हावामा भुईँमा बसेर अध्ययन गर्न बाध्य छन् । विद्यालयको स्थापना ४९ वर्षअघि भएको भए पनि आवश्यक पूर्वाधार अभावका कारण बालबालिका अहिले पनि सुविधाविहीन अवस्थामा अध्ययन गर्न बाध्य छन् ।

विद्यालयका प्रारम्भिक दिनहरूमा बाल विकास र कक्षा ४ सम्मका विद्यार्थीलाई रूखमुनि बसेर अध्ययन गराइन्थ्यो । हाल गाउँपालिकाले करिब दुई वर्षअघि चार कोठे भवन निर्माण कार्य सुरु गरे पनि भवन अधूरो छ । भवनमा प्लास्टर, झ्याल ढोका र बिजुली जडान हुन बाँकी रहेको प्रधानाध्यापक कृपासिन्धुप्रसाद पटवारीले जानकारी दिए ।

भवन निर्माण भए पनि आवश्यक फर्निचर नहुँदा बालबालिका चिसो भुईँमा बसेर अध्ययन गर्न बाध्य छन् । विद्यार्थीहरूले घरबाट बोरा ल्याई बिछ्याएर अध्ययन गर्छन् । गर्मी मौसममा समस्या न्यून भए पनि चिसो मौसममा झ्याल ढोका नहुनु र चिसो हावा छिर्नु विद्यार्थीहरूको लागि थप समस्याको कारण बनेको छ ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई सुविधा सम्पन्न कक्षाकोठा र डेस्क–बेन्च उपलब्ध गराइएको छ । तर, बाल विकासदेखि कक्षा ४ सम्मका साना बालबालिका अझै पनि प्रतिकूल वातावरणमा अध्ययन गर्न विवश छन् ।

विद्यालय प्रशासनले पालिकालाई पटक–पटक समस्या अवगत गराएको भए पनि बजेट अभावका कारण निर्माण कार्य रोकिएको पालिकाले जनाएको छ । “बजेट आउनासाथ निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ,” प्रधानाध्यापक पटवारीले भने ।

५० वर्ष पूरा गर्दै स्वर्ण जयन्ती मनाउने तयारीमा रहेको विद्यालयको समस्याले स्थानीय निकाय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन आवश्यक देखिएको छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य र पठनपाठनको गुणस्तर सुनिश्चित गर्न तत्काल कदम चालिनुपर्ने देखिन्छ ।

Back to top