×

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–२, जयपुर गाउँस्थित श्रीजनता आधारभूत विद्यालयमा अनियमितता र असमानता विरोधमा स्थानीयवासीले कार्यालय र जिन्सी शाखामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक गर्भु महतोमाथि विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरू बाँडफाँड नगरी अनियमितता गरेको आरोप लगाइएको छ।

मंगलवार, प्रधानाध्यापक महतोले चार शिक्षकलाई कार्यालय कोठामा थुनेर ताल्चा लगाइएको थियो। वडाध्यक्ष अजय साहले उक्त ताल्चा खोलाएर शिक्षकलाई मुक्त गरेपछि पनि स्थानीयवासीको आक्रोश मत्थर भएको थिएन। बुधवार वडाध्यक्षले स्वयं अफिस र जिन्सी शाखामा तालाबन्दी गरिदिएका छन्।

यूएनडिपी र चाइना एडको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थी र अभिभावकका लागि वितरण गर्न आएको सामग्री शिक्षक र व्यवस्थापन समितिका सदस्यहरूले आफूखुशी बाँडफाँड गरेको आरोप लगाइएको छ। यसले गर्दा स्थानीयवासीहरूले विद्यालयमा विरोध प्रदर्शन गरेका थिए।

स्थानीयवासीले प्रधानाध्यापक महतोलाई वार्तामा आउन पटक–पटक आग्रह गर्दा पनि उनले अटेर गरेका छन्। मोबाइल स्विच अफ गरी सम्पर्कविहीन रहेका महतोको रवैयाले स्थानीयवासी थप आक्रोशित भएका छन्। स्थानीयवासी श्यामसुन्दर महतोका अनुसार प्रधानाध्यापकले वार्तामा सहभागी नभएर गैरजिम्मेवारीपन देखाएका छन्।

वडाध्यक्ष साहका अनुसार, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरूले लगेको सामग्री फिर्ता गरिने छ। रविवार अभिभावक, जनप्रतिनिधि, स्थानीय भद्रभलादमी र विद्यालय व्यवस्थापनबीच छलफल गर्ने सहमति गरिएको छ।

प्रधानाध्यापक महतोमाथि विगत पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समितिलाई विवादित बनाउँदै आफ्नो मनोमानी चलाएको आरोप स्थानीयसितल मुखियाले लगाएका छन्। उनले आर्थिक अनियमितता गरेको, अभिभावक र विद्यार्थीका लागि उपलब्ध सुविधाहरूमा पारदर्शिता नराखेको र विद्यालयका शैक्षिक तथा भौतिक गतिविधिलाई प्रभावित पारेको आरोप पनि लगाइएको छ।

विद्यालयलाई राजनैतिक अखडा बनाएको भन्दै महतोको निलम्बन र कानुनी कारबाहीको माग स्थानीयवासीले गरेका छन्।

मंगलवार साँझ, विद्यार्थीहरूका लागि वितरण गर्न आएको सामग्री शिक्षक र व्यवस्थापन समितिका सदस्यहरूले जानकारी बिना नै घर लैजान खोज्दा स्थानीयले ती सामग्री नियन्त्रणमा लिएका थिए।

यस घटनाले विद्यालयमा शैक्षिक र व्यवस्थापकीय सुधारको आवश्यकता औंल्याएको छ। स्थानीय, अभिभावक र सरोकारवालाबीच सहकार्यमार्फत समस्या समाधान हुन आवश्यक देखिन्छ।

Back to top