×

सर्लाही ।  ईश्वरपुर-६ स्थित चमेली बचत तथा ऋण सहकारी संस्था लि.ले निगरानी टुडे पत्रिका तथा रेडियो निगरानी १०७ मेगाहर्जका सञ्चालक राकेश गुप्तालाई ‘चमेली साकोस पत्रकारिता सम्मान २०८१’ प्रदान गरेको छ। सहकारी संस्थाको २४औं स्थापना दिवस तथा २१औं वार्षिक साधारण सभाको अवसर पारेर यो सम्मान प्रदान गरिएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहका अनुसार पत्रकार गुप्तालाई देश र मधेश प्रदेशमा सुशासन कायम गर्न पत्रकारिताको माध्यमबाट जनचेतना फैलाउन खेलेको भूमिका अनुकरणीय भएकाले सम्मान गरिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष रामप्रताम साहको अध्यक्षता र सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

पत्रकार गुप्तालाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथिले जनाएका छन्। साथै, प्रमुख कार्यकारी अधिकृत साहले सहकारी संस्थाले सरकारी क्षेत्रसहित समग्र देश र प्रदेशको सुशासन कायम गर्न योगदान पुर्याउने पत्रकारहरुलाई हरेक वर्ष यस सम्मानबाट सम्मान गर्दै आएको जानकारी दिए।

गत वर्ष यो सम्मान पत्रकार डुकु प्रसाद कोइरालालाई प्रदान गरिएको थियो।

Back to top