वीरगञ्ज । बारा जिल्ला निवासी दिपक साह कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को १५औँ महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका छन् ।
डाइनामिक टेक्नोसोफ्ट प्रालिका प्रबन्ध निर्देशक साह सचिवमा निर्विरोध निर्वाचित भएका हुन् । सूचना प्रविधि क्षेत्रमा साढे एक दशकभन्दा लामो अनुभव बोकेका साह महासङ्घको सचिव पदमा निर्वाचित हुनु मधेस प्रदेशकै लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
साहले आफ्नो कार्यकाललाई वीरगञ्जको सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । उनले महासङ्घलाई अझ संस्थागत बनाउन र स्थानीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म यसको प्रभावकारिता वृद्धि गर्न विशेष पहल गर्ने प्रतिक्रिया दिएका छन् ।
सचिवमा निर्वाचित दिपक साहले वीरगञ्जलाई सूचना प्रविधि नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्न आफूले नयाँ योजना अघि सार्ने बताएका छन् । उनी स्थानीय युवालाई सूचना प्रविधिमा लाग्न प्रेरित गर्न र नयाँ अवसर सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजनामा छन् ।
साह यसअघि क्यान महासङ्घ पर्साको अध्यक्ष र मधेस प्रदेशको समितिको महत्त्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
क्यान महासङ्घमा नयाँ नेतृत्व
क्यान महासङ्घको इतिहासमा पहिलो महिला अध्यक्ष सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक पनि हुन् । महासङ्घको उपाध्यक्षमा हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा चन्द्रविलास भुर्तेल र कोषाध्यक्षमा विक्रमसिंह चयन भएका छन् ।
सचिवहरूमा दिपक साहसहित सरिता न्यौपाने, अग्मा मालाकार, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयास गरिने बताइन् । उनले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन नीतिगत सुधारको आवश्यकता रहेको उल्लेख गरिन् ।
सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना प्रविधि विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । हरेक वर्ष आयोजना हुने ‘क्यान इन्फोटेक’ प्रदर्शनी यस क्षेत्रको प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ ।