×

सर्लाही। सर्लाहीको लालबन्दीमा बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन नेपाल र बागमती सेवा समाज नेपालको सहजीकरणमा आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो।

तालिममा बाल अनुगमनका तरिका, बालबालिकाको मनोभावना बुझ्ने सीप, बालविवाह रोकथाम, अभिभावक शिक्षाको महत्त्व, बाल अधिकार, बाल विकासका चरण, परिवारको विशेषता, सकारात्मक संचारको फाइदा लगायतका विषयमा गहन छलफल गरिएको थियो। आयोजक संस्थाले यस्तो तालिमले अभिभावकलाई बालबालिकासँगको सम्बन्ध सुधार गर्न तथा उनीहरूको समग्र विकासमा योगदान पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

तालिममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका अभिभावकहरूको सहभागिता रहेको थियो। हरिपुर्वा नगरपालिका–४ का खुसिलाल यादवले तालिम अत्यन्त उपयोगी भएको बताउँदै लागू औषध सम्बन्धी जनचेतनामूलक तालिमको आवश्यकता पनि औंल्याउनुभयो। पर्सा गाउँपालिका–४ की पुष्पाञ्जली साहले तालिमपछि आफ्ना छोराछोरीप्रति गरिने व्यवहार परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो। "पहिला बच्चालाई कुटपिट गरिन्थ्यो, तर अब उनीहरूलाई बुझाएर नै व्यवहार सुधार्नुपर्छ भन्ने महसुस भयो," उहाँले बताउनुभयो।

तालिममा २६ जना अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई वर्ल्ड भिजन नेपालको जिल्ला संयोजक सीता चौधरी र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले सहजीकरण गर्नुभएको थियो।

Back to top