×

सर्लाही । सर्लाही प्रहरीले अपहरणमा परेको भारतीय बालकको सकुशल उद्धार गर्दै तीन जना अपहरणकारीलाई हातहतियारसहित पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार अबेर प्रेस नोट सार्वजनिक गर्दै दिएको जानकारी अनुसार, हिजो आइतबार दिउँसो १ बजे १५ वर्षीय भारतीय बालकको अपहरण भएको थियो । प्राप्त सूचनाका आधारमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ मा अपहरणकारी लुकिरहेको जानकारी पाएपछि प्रहरीले सुरक्षाकर्मी परिचालन गरी रामजी साहको घरमा छापा मारेको थियो ।

छापाको क्रममा बालकलाई सकुशल उद्धार गर्न सफल भएका सुरक्षाकर्मीले रामजी साह, विक्रम पासवान, र प्रवचन साहलाई पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिहरू क्रमशः ६८ वर्षीय रामजी साह (सर्लाही निवासी), १९ वर्षीय विक्रम पासवान (सर्लाही निवासी), र २७ वर्षीय प्रवचन साह (भारतको बिहार राज्यको सीतामढी जिल्लाका निवासी) हुन् ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली, मोबाइल फोन १ थान, धारिलो चक्कु, हथौडा, र भारतीय नम्बर प्लेट (बीआर ०६ बीटी २८५०) भएको मोटरसाइकलसहितका सामग्री बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठका अनुसार, पक्राउ परेका तीन जनालाई अपहरण, शारीरिक बन्धक बनाउने, र हातहतियार खरखजाना सम्बन्धी कसुर अन्तर्गत सर्लाही अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीको छापामार अभियान र सफल उद्धार कार्यप्रति स्थानीयहरूले धन्यवाद व्यक्त गरेका छन् ।

Back to top