महोत्तरी । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय र नं. ३९ रिजर्भ गण हेड क्वार्टर महोत्तरीको संयुक्त आयोजनामा २७औं भूकम्प सुरक्षा दिवस–२०८१ का अवसरमा विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्य नमूनाको कृत्रिम सेमुलेशन अभ्यास सम्पन्न गरिएको छ।
कार्यक्रम बर्दिवास नगरपालिका–४ कामीडाँडास्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भूकम्पपछि तालिमप्राप्त सुरक्षाकर्मीहरूले उपलब्ध स्रोत र साधनबाट छिटो र प्रभावकारी रूपमा उद्धार कार्य कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा नमूना अभ्यास प्रस्तुत गरेका थिए।
मन्त्री लेखीले सशस्त्र प्रहरी बलद्वारा प्रस्तुत नमूना अभ्यासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विपद् पूर्वतयारीमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्। उनले विपद् व्यवस्थापन र उद्धार कार्यमा सशस्त्र प्रहरी बलको भूमिका सराहनीय रहेको उल्लेख गरे।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउन आवश्यक उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालय स्तरमै विपद् उद्धारको पूर्वतयारी अभ्यास गरिनुले समुदायलाई बलियो बनाउन र क्षति न्यून गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले नेपालका भौगोलिक, जलवायु परिवर्तन र अन्य प्राकृतिक प्रकोपका कारण देश जोखिमपूर्ण अवस्थामा रहेको र वर्षेनी ठूलो धनजनको क्षति व्यहोर्नु परेको उल्लेख गरे। उनले पूर्वतयारी, राहत, पुनस्थापन, र पुनर्निर्माणका क्षेत्रमा व्यापक जनचेतना र तालिमको आवश्यकता औंल्याए।
सेमुलेशन अभ्याससँगै छिन्नमस्ता बाहिनी मुख्यालयले विभिन्न प्रकृतिका विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा औजारहरूको प्रदर्शनीसमेत गरेको थियो।
कार्यक्रममा मध्यपूर्वी पृतना हेड क्वार्टर मुख्यालयका सहायक रथी भुवन खत्री, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक, महोत्तरी जिल्लाका सुरक्षा समिति पदाधिकारी, विद्यालय तथा कलेजका प्रधानाध्यापक, **भूकम्प प्रविधि राष्ट्रिय समाज (नेपाल)**का प्रतिनिधि, रेडक्रस सोसाइटी बर्दिवासका प्रतिनिधि, विद्यार्थी, शिक्षक र स्थानीयवासीको उपस्थिति थियो।
सशस्त्र प्रहरी बलद्वारा निरन्तर आयोजना गरिएका यस्ता कार्यक्रमले समुदाय र शैक्षिक संस्थालाई विपद् व्यवस्थापनका क्षेत्रमा थप सशक्त बनाउन सहयोग पुर्याएको महसुस गरिएको छ।