×

महोत्तरी । महोत्तरी जिल्लाको सोनाम गाउँपालिकामा पूर्व गाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित गहुँवारिमा २९ वर्षीय नरेन्द्र यादवको शव भेटिएको हो । नरेन्द्र पूर्व गाविस अध्यक्ष गोकुल यादवका छोरा हुन् ।

शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा नीलडाम देखिएको कारण हत्या भएको आशङ्का गरिएको छ । महोत्तरी प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवारका अनुसार घटना शङ्कास्पद देखिएको छ । 

घटनास्थलमा महोत्तरी प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेलको कमान्डमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ । साथै, घटनाको सूक्ष्म छानबिनका लागि ‘स्पेसल डग’ समेत परिचालन गरिएको मधेस प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहराले जानकारी दिएका छन् ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रारम्भिक तथ्याङ्कका आधारमा हत्या भएको अनुमान गरिए पनि सत्य तथ्य पत्ता लगाउन अनुसन्धान जारी छ ।

घटनाले स्थानीयमा त्रास फैलाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको र दोषीलाई चाँडो कानुनी दायरामा ल्याउन स्थानीयले माग गरेका छन् ।

Back to top