वीरगञ्ज, । यात्रा डेली प्रालि द्वारा सञ्चालित यात्रा डेली डटकममा मिति २०८१ माघ १५ गते मङ्गलवारका दिन प्रकाशित समाचारमा मटिअर्वा नाकामा तस्करीमा संलग्नताको आरोप लगाइएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विदुर भट्टराईले उक्त समाचारको खण्डन गरेका छन्।
भट्टराईले यात्रा डेलीलाई टेलिफोन मार्फत प्रतिक्रिया दिँदै, समाचारमा उल्लेख गरिएका सबै आरोपहरू झुटा र निराधार रहेको बताएका छन्। उनले तस्करीमा संलग्न हुनुको आरोपलाई नकार्दै भने, "मैले आफ्नो सम्पूर्ण जिम्मेवारी इमानदारितापूर्वक निर्वाह गरिरहेको छु र कुनै पनि गलत कार्यमा संलग्न भएको छैन।"
उक्त समाचारमा मटिअर्वा नाकामा तस्करीको रेखदेख गर्ने कार्यमा डिएसपी भट्टराईको संलग्नता र २६ लाख रुपैयाँबाट ३० लाख रुपैयाँ पुग्ने तस्करीको लाइन खोल्ने दरबारे चर्चा गरिएको थियो। यस समाचारको खण्डन गर्दै भट्टराईले भने, "यो सब झुटो अफवाह हो, जसले मेरो चरित्र हत्या गर्ने उद्देश्य राखेको छ।"
डिएसपी भट्टराईले आफूसँग सरकारको प्रतिनिधित्व गर्ने राष्ट्रसेवकको जिम्मेवारी भएकाले आफ्नो कार्यमा पूर्ण निष्ठा र इमानदारीका साथ काम गरिरहेको स्पष्ट पारेका छन्। साथै, उनले उक्त समाचारको सत्यता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै, यात्रा डेलीलाई खण्डन प्रकाशित गर्न आग्रह गरेका छन्।