×

वीरगञ्ज । देशमा सरकार फेरिने, मन्त्री फेरिने र सुशासनका प्रतिबद्धता दोहोरिने क्रम जारी रहे पनि सर्वसाधारणले प्रत्यक्ष सेवा लिने सरकारी कार्यालयहरूमा देखिने विकृति र बेथिति भने अझै हट्न सकेको छैन। विशेष गरी यातायात व्यवस्था कार्यालय वीरगञ्जमा सेवाग्राहीले भोग्दै आएको सास्ती, बिचौलियाको चलखेल र अवैध आर्थिक कारोबारका गुनासाहरू पुनः सतहमा आउन थालेका छन्।

पछिल्लो समय कार्यालयमा काम पारदर्शी र प्रविधिमैत्री बनाइएको दाबी गरिए पनि सेवाग्राही तथा स्थानीय स्रोतहरूले लाइसेन्स वितरण र ट्रायल प्रक्रियामा अनियमितता तथा अवैध असुली बढ्दै गएको आरोप लगाएका छन्। कार्यालयभित्र केही कर्मचारी र बिचौलियाबीचको मिलेमतोका कारण सेवाग्राहीहरू अतिरिक्त आर्थिक भार वहन गर्न बाध्य भएको गुनासो बढ्दै गएको छ।

विश्वसनीय स्रोतका अनुसार ट्रायल शाखाका प्रमुख रामसुन्दर महतो र लिखित प्रमुख  तथा कम्प्युटर प्रणालीसँग सम्बन्धित जिम्मेवारी सम्हाल्दै आएका कम्प्युटर अधिकृत शेष रजाउल हकले पास फेल काे ठेक्का लिएका छन । 

हक विगत करिब पाँच वर्षदेखि यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कार्यरत छन्। उनको सरुवा भए पनि उनी सरुवा भएको कार्यालयमा नजाई विभिन्न राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा पुनः वीरगञ्जमै बस्दै आएका छन। यसले कर्मचारी व्यवस्थापन र सरुवा प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।

सेवाग्राहीहरूको भनाइ अनुसार कार्यालयमा पछिल्लो समय काम पारदर्शी भएपनि अहिलेबिचौलियाको प्रभाव पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। कतिपय सेवाग्राहीले प्रक्रिया अनुसार काम गर्दा अनावश्यक झन्झट र ढिलासुस्ती हुने, तर बिचौलियामार्फत जाँदा काम छिटो हुने वातावरण बनेको आरोप लगाएका छन्। यसले सरकारी सेवाप्रतिको जनविश्वास कमजोर बनाएको उनीहरूको भनाइ छ।

यातायात कार्यालयबाट प्रदान गरिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्तो संवेदनशील सेवामा यदि आर्थिक चलखेल र अनियमितता हुने हो भने त्यसले योग्य र अयोग्य चालक छुट्याउने प्रणालीमै प्रश्न उठ्ने सरोकारवालाहरू बताउँछन्। यसले सडक सुरक्षामै समेत दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जमा देखिएको भनिएको विकृति, अनियमितता तथा अवैध असुलीका विषयमा नियमनकारी निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित मन्त्रालयले कति चासो देखाउँछन् भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। आरोपहरूको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही र निर्दोष भए सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

यस विषयमा कार्यालय प्रमुखसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्कको प्रयास गरिए पनि समाचार तयार पार्दासम्म उनी सम्पर्कमा आउन चाहदैनन्  । यस विषयमा थप जानकारी लिन यातायात व्यवस्था कार्यालय वीरगञ्जका कार्यालय लिखित प्रमुख शेख सरसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर, पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले फोन उठाएका छैनन्।

Back to top