वीरगञ्ज । बारा र पर्सालाई कार्यक्षेत्र बनाएको पर्यटन विकास कार्यालय वीरगञ्जमा अनियमितता र आर्थिक चलखेल भएको आरोप लगाउँदै स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिहरूले कार्यालय प्रमुख अरविन्द यादवलाई तत्काल जिम्मेवारीबाट हटाई दरबन्दीअनुसार उपसचिवस्तरको कार्यालय प्रमुख व्यवस्था गर्न माग गरेका छन्।
स्थानीयको आरोपअनुसार उपसचिवको दरबन्दी रहेको उक्त कार्यालयमा मधेश प्रदेश सरकारले शाखा अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी दिँदा अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन मिलेको छ। चालु आर्थिक वर्षका योजनाहरूमा कमिसन लिएर कार्यादेश दिइएको विषय बाहिरिए पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै प्रभावकारी कदम नचालेको गुनासोसमेत गरिएको छ।
बहुदरमाई नगरपालिकाकी उपप्रमुख शुश्मा कुशवाहाले कार्यालयलाई “कमाइ खाने भाँडो” बनाउन नहुने बताउँदै शाखा अधिकृत अरविन्द यादवलाई तत्काल जिम्मेवारीमुक्त गरी दरबन्दीअनुसारको कार्यालय प्रमुखको व्यवस्था गर्न माग गरेकी छन्।
स्थानीय स्रोतका अनुसार वडाको पत्र असम्बन्धित व्यक्तिलाई उपलब्ध गराई २० प्रतिशतसम्म अग्रिम रकम असुल्ने गरिएको आरोप कार्यालय प्रमुख यादवमाथि लागेको छ। त्यस्तै, योजनाको भुक्तानीका लागि लेखा प्रमुख श्याम पटेलले १० प्रतिशत अग्रिम रकम बुझाउनुपर्ने दबाब दिने गरेको भन्दै केही उपभोक्ता समितिहरूले गुनासो गरेका छन्।
यद्यपि, समाचारमा उल्लेख गरिएका कमिसन, अग्रिम रकम असुली तथा अन्य आर्थिक अनियमिततासम्बन्धी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। साथै, आरोपबारे कार्यालय प्रमुख अरविन्द यादव, लेखा प्रमुख श्याम पटेल तथा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया पनि प्राप्त हुन बाँकी छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न तथा पर्यटन विकास कार्यालयमा पारदर्शी र जवाफदेही प्रशासनिक व्यवस्था सुनिश्चित गर्न माग गरेका छन्।