×

वीरगञ्ज । “चाँडै सुरु गरौँ, जीवनभरका लागि दृष्टि जोगाऔँ” भन्ने मूल नाराका साथ विश्वभर मनाइने वर्ल्ड मायोपिया अवेरनेस विक २०२६को अवसरमा वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।

सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित र्‍याली घण्टाघर, मकालु होटल, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमको मुख्य आयोजना वीरगञ्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पतालले गरेको थियो भने नारायणी आँखा अस्पताल र सिद्धि आइ केयर सेन्टरको सक्रिय सहभागिता रहेको थियो ।

कोणसभामा विशेषज्ञ वक्ताका रूपमा डा. विपिन विष्ट र डा. आदित्य प्रसादले मायोपिया सम्बन्धी महत्वपूर्ण चिकित्सकीय जानकारी दिनुभएको थियो । उहाँहरूले पछिल्लो समय बालबालिकामा मायोपिया अर्थात् नजिकको दृष्टिदोष तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समयमै पहिचान र उपचार आवश्यक रहेको बताउनुभयो ।

चिकित्सकहरूका अनुसार अत्यधिक मोबाइल, ट्याब्लेट तथा कम्प्युटरको प्रयोग, लामो समयसम्म नजिकैबाट अध्ययन गर्ने बानी तथा बाहिरी खेलकुदमा कमी हुनु मायोपिया बढ्नुका मुख्य कारण हुन् । समयमै आँखा परीक्षण, उचित पावरको चस्मा प्रयोग तथा नियमित फलोअपले दृष्टि सुरक्षित राख्न मद्दत गर्ने उहाँहरूको सुझाव थियो ।

कार्यक्रममा स्थानीय सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम संयोजक तथा मायोपिया विशेषज्ञ वसन्त पौडेलले यस्ता अभियानले बालबालिकाको दृष्टि संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी आयोजक संस्थाका अध्यक्ष विश्वराज गौतमले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Back to top