×

वीरगञ्ज। नेपाल इन्जिनियर्स एशोसिएसन (NEA), वीरगञ्ज केन्द्रको आयोजनामा ६४ औँ इन्जिनियर्स डे को अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पर्साको वीरगञ्ज–१४ स्थित BIT इन्जिनियरिङ कलेजमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रका अध्यक्ष ई. प्रियांशु कुमार गुप्ताले गर्नुभएको थियो। एशोसिएसनका कोषाध्यक्ष ई. इकबाल हुसेनको समन्वयमा आयोजित कार्यक्रममा इन्जिनियरिङ क्षेत्रका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जका मनोवैज्ञानिक डा. सन्देश सावन्तले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्दै मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यकता पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो।

सहजीकरणपछि सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेको आयोजकले जनाएको छ।

नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रले यस्ता सचेतनामूलक कार्यक्रमले इन्जिनियरिङ पेशामा कार्यरत व्यक्तिहरू तथा विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच र जागरूकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

यस्तै, नेशनल मेडिकल कलेज, वीरगञ्जले स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार गर्दै आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Back to top