×

वीरगञ्ज। मधेस प्रदेश सरकारको बजेटबाट पर्साको बहुदरमाई नगरपालिका–५ मा निर्माण गरिएको श्मशानघाट पहिलो वर्षामै आएको बाढीले क्षतिग्रस्त भएपछि यसको निर्माण गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।

करीब पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त श्मशानघाट निर्माण सम्पन्न भएको केही दिनमै आएको बाढीले आधाभन्दा बढी भाग बगाएको स्थानीयवासीले बताएका छन्। संरचना निर्माणमा प्राविधिक मापदण्ड पालना नगरिएको तथा गुणस्तरमा लापरवाही गरिएको आरोप स्थानीयको छ।

स्थानीयवासी लालजी साहका अनुसार नदी किनारमा निर्माण गरिने संरचनाका लागि आवश्यक प्राविधिक अध्ययन, बाढी जोखिमको मूल्याङ्कन तथा सुरक्षाका मापदण्ड अपनाइएन। हतारमा निर्माण सम्पन्न गरिएकै कारण पहिलो वर्षामै संरचना क्षतिग्रस्त भएको उनको दाबी छ।

स्थानीयका अनुसार सार्वजनिक बजेटको दुरुपयोग भएको आशङ्का समेत गरिएको छ। उनीहरूले विकास निर्माणमा गम्भीर लापरवाही भएको भन्दै घटनाको निष्पक्ष छानबीन गरी दोषीमाथि कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयवासीले क्षतिग्रस्त संरचनाको प्राविधिक मूल्याङ्कन, निर्माण प्रक्रियाको निष्पक्ष अनुसन्धान तथा निर्माणमा संलग्न जिम्मेवार पक्षको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। साथै, केही स्थानीयले प्राविधिक मूल्याङ्कन प्रक्रियामा समेत आर्थिक चलखेल भएको आशङ्का व्यक्त गर्दै त्यसको पनि छानबीन हुनुपर्ने माग गरेका छन्।

यस विषयमा सम्बन्धित निर्माण निकाय तथा सरोकारवाला पक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

Back to top