×

एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।

वीरगञ्ज । लामो समयसम्म वर्षा नहुँदा खडेरीको चिन्तामा परेका पर्साका ग्रामीण भेगका किसानहरू अविरल वर्षापछि उत्साहित बनेका छन् ।

शनिवार रातिदेखि परेको निरन्तर वर्षाले आकासे पानीको भरमा खेती गर्ने किसानलाई ठूलो राहत दिएको छ भने गाउँगाउँमा धान रोपाइले तीव्रता लिएको छ । तर, समयमै रासायनिक मल उपलब्ध नहुँदा उत्पादनमा असर पर्ने चिन्ता भने कायमै रहेको किसानहरूले बताएका छन् ।

सखुवाप्रसौनी गाउँपालिका–५ का किसान शिवलाल यादवका अनुसार वर्षा नहुँदा धान रोपाइ अन्योलमा परेको थियो । “आकाशे पानीको भरमा खेती गर्नुपर्छ, पानी नपर्दा बीउ राखेर पनि रोप्न पाएका थिएनौँ,” उनले भने, “अहिले लगातार पानी परेपछि ‘सोना मन्सुली’ जातको अगहनी धान रोपाइ तीव्र गतिमा भइरहेको छ। अब करिब एक साताभित्र रोपाइ सकिने विश्वास छ ।”

उनका अनुसार वर्षाले खेतमा पर्याप्त चिस्यान पुर्‍याएपछि काम गर्न सहज भएको छ । मजदुरसमेत सहजै उपलब्ध हुन थालेका छन् । “पानी नहुँदा खेत सुख्खा थियो, अहिले पानी भरिएपछि रोपाइ गर्न सजिलो भएको छ,” उनले थपे ।

यस्तै, पटेर्वासुगौली गाउँपालिका–२ का किसान महेन्द्र साहले यस वर्ष धान रोपाइ अघिल्ला वर्षहरूको तुलनामा छिट्टै सम्पन्न हुने अवस्थामा पुगेको बताए । “हामीले बोरिङ, कुलो र बाँधको पानी प्रयोग गरेर करिब ९५ प्रतिशत रोपाइ यसअघि नै सकिसकेका थियौँ,” उनले भने, “अब वर्षाले साथ दिएपछि बाँकी काम पनि छिट्टै सकिन्छ ।”

उनका अनुसार सिँचाइ सुविधा भएका क्षेत्रमा खासै समस्या नभए पनि आकासे पानीमा निर्भर किसानहरू भने वर्षाको प्रतीक्षामा थिए। वर्षा भएपछि उनीहरू पनि उत्साहित बनेका छन् ।

तर वर्षाले राहत दिए पनि किसानहरूको मुख्य चिन्ता रासायनिक मल अभाव नै रहेको छ । किसान शिवलाल यादव भन्छन्, “पानी पर्‍यो, रोपाइ भइरहेको छ, तर मल नपाएपछि उत्पादन कसरी बढ्छ? पर्याप्त मलखाद नपाउँदा खेतीपाती प्रभावित हुन्छ।” उनले सरकारले समयमै मल उपलब्ध गराउनुपर्ने माग गरे ।

स्थानीय किसानहरूका अनुसार युरिया र डीएपी मलको अभावले धानबालीको वृद्धि प्रभावित हुन सक्छ । “रोपाइपछि निश्चित समयमा मल हाल्नुपर्छ, ढिला भयो भने उत्पादन घट्छ,” अर्का किसानले भने, “वर्षा राम्रो भयो भने पनि मल नपाए मेहनत खेर जान सक्छ ।”

कृषि प्राविधिकहरूका अनुसार धानबालीको सुरुवाती अवस्थामा नाइट्रोजनयुक्त मल अत्यावश्यक हुन्छ। समयमा मल प्रयोग गर्न नसके बोटको वृद्धि कमजोर भई उत्पादन घट्ने सम्भावना रहन्छ ।

पर्साका अधिकांश ग्रामीण क्षेत्र आकासे पानीमा निर्भर छन् । सिँचाइ सुविधा सीमित भएकाले वर्षा ढिलो हुँदा हरेक वर्ष किसानले सास्ती खेप्नुपर्छ । यस वर्ष पनि असारको मध्यसम्म वर्षा नहुँदा किसानहरू चिन्तित बनेका थिए । तर साउनको सुरुवातसँगै परेको वर्षाले राहत दिएको हो ।

स्थानीय किसानहरूले अब निरन्तर वर्षा भइदिए र सरकारले समयमै मलखाद तथा आवश्यक कृषि सामग्री उपलब्ध गराए यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरेका छन् । “पानीले साथ दिएको छ, अब सरकारले मलको व्यवस्था गरिदियो भने उत्पादन राम्रो हुन्छ,” किसान महेन्द्र साहले भने ।

यसैबिच, किसानहरूले कृषि सामग्रीको सहज आपूर्ति, सिँचाइ विस्तार र समयमै प्राविधिक सहयोग उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेका छन् । वर्षाले केही राहत दिए पनि मल अभावको समस्या समाधान नभएसम्म किसानहरूको चिन्ता भने पूर्ण रूपमा हट्न सकेको छैन ।

Back to top