×

वीरगञ्ज। वर्षायामसँगै परेको वर्षाको पानीको उचित निकास हुन नसक्दा वीरगञ्ज महानगरपालिकाका पाँच वडाका ३०० बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ। डुबानका कारण सयौं किसानले धान रोपाइँ गर्न नपाएको गुनासो गरेका छन् भने सयौं घर तथा गोठसमेत जलमग्न हुन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

वीरगञ्ज महानगरपालिका–१७, २०, २४, २६ र २८ नम्बर वडाका खेतीयोग्य जमिनमा वर्षाको पानी जमेर निकास हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका हुन्। वर्षायाम सुरु भएसँगै प्राकृतिक पानीको बहाव अवरुद्ध भएपछि खेतहरू जलमग्न भएका छन्।

डुबानका कारण स्थानीयको गुनासो बढेपछि प्रतिनिधिसभा सदस्य सुशील साह कानुले आइतबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा किसानहरूले धान रोपाइँको तयारी गरिए पनि बिउ तथा खेत नै पानीमा डुबेकाले रोपाइँ गर्न नसकिएको बताएका थिए। उनीहरूले प्राकृतिक पानीको बहाव रोकिँदा खेतीयोग्य जमिन डुबानमा परेको भन्दै तत्काल निकासको व्यवस्था गर्न सांसद कानुसँग आग्रह गरेका छन्।

वीरगञ्ज महानगरपालिका–२४ का किसान तथा पूर्व गाविस अध्यक्ष रामाशंकर द्विवेदीले अव्यवस्थित जग्गा प्लटिङ तथा जमिनको सतहभन्दा माथि सडकसँगै नाला निर्माण गरिएकाले पानी खेतमै थुनिएको बताए। उनका अनुसार यसले खेतीयोग्य जमिन वर्षेनि डुबानमा पर्ने अवस्था सिर्जना गरेको छ।

स्थानीय किसानहरूले वर्षायाम सुरु भएदेखि नै खेतमा पानी जमेकाले धान रोप्न नसकिएको र अघिल्ला वर्षहरूमा समेत गहुँखेती प्रभावित भएको गुनासो गरेका छन्। उनीहरूले वर्षेनि सरकारी निकाय धाए पनि समस्या समाधान नभएको भन्दै यसपटक प्रभावकारी पहलको माग गरेका छन्।

स्थलगत निरीक्षणपछि सांसद सुशील साह कानुले डुबान समस्याको तत्कालीन तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रभावित किसानहरूको समस्या समाधानलाई प्राथमिकतामा राखेर निकासको स्थायी व्यवस्था गर्न आफू सक्रिय रहने बताए।

वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान राधेश्याम द्विवेदीले वर्षात्को पानीको निकास नहुँदा आफ्नो २१ कट्ठा खेतमा लगाइएको गर्मी धान जोगाउन ठूलो लगानी गर्नुपरेको बताए। उनले अहिले पनि खेतमा पानी जमेकाले आगामी धान खेती अन्योलमा परेको गुनासो गरे।

स्थानीयका अनुसार पछिल्लो समय परवानीपुर–एकीकृत जाँचचौकी (आईसीपी) जोड्ने छ लेन सडक, हुलाकी राजमार्ग, अलौँ–अठराहा सडक, एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाहलगायत पूर्वाधार निर्माण तथा अव्यवस्थित प्लटिङका कारण प्राकृतिक पानीको बहाव अवरुद्ध हुँदा डुबानको समस्या झन् जटिल बन्दै गएको छ।

विगतमा नारायणी सिँचाइ प्रणालीअन्तर्गत निर्माण गरिएको क्यानल तथा अलौँ क्षेत्रबाट पानीको निकास हुँदै आएको भए पनि विभिन्न पूर्वाधार तथा निजी संरचना निर्माणपछि प्राकृतिक बहाव बन्द भएको स्थानीयको भनाइ छ। यसकै कारण खेतीयोग्य जमिनसँगै बस्तीसमेत वर्षेनि डुबानमा पर्ने गरेको उनीहरूको आरोप छ।

बहुअरीका स्थानीय अनिल तिवारीका अनुसार पाँचवटै वडाका सयौं घर तथा गोठमा समेत पानी जम्ने समस्या छ। उनका अनुसार केही स्थानमा तीनदेखि चार फिटसम्म पानी जमेकाले स्थानीयलाई घरभित्र प्रवेश गर्नसमेत कठिनाइ भइरहेको छ। महानगर–२६ मा करिब २० घर, वडा नं. २४ मा ३५ घर तथा वडा नं. २५ मा एक दर्जनभन्दा बढी घर डुबानको जोखिममा रहेको उनले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका–२४ का वडाध्यक्ष विजय पटेलले सडक, सुक्खा बन्दरगाहलगायतका पूर्वाधार निर्माणका क्रममा प्राकृतिक पानी निकासको व्यवस्था नगर्दा समस्या बढेको बताए। विगतमा वर्षात्को पानी असोज–कात्तिकसम्म सुक्ने गरे पनि अहिले निकास नहुँदा लामो समयसम्म डुबान रहने अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनका अनुसार गत कात्तिकमा महानगरपालिकाले अलौँदेखि शिवजी मिलसम्म करिब एक किलोमिटर क्षेत्रमा तीन फिट गहिरो अस्थायी नाली खनेर पानी निकास गर्ने प्रयास गरेको थियो। तर, आवश्यक ह्युमपाइप जडान हुन नसक्दा स्थानीयले नाली पुर्दिएपछि समस्या पुनः उस्तै बनेको उनले बताए। करिब एक किलोमिटर ह्युमपाइप जडान गर्न सके डुबान समस्याको दीर्घकालीन समाधान सम्भव हुने उनको विश्वास छ।

यसअघि पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समेत वीरगञ्जका डुबान प्रभावित क्षेत्रमा समस्या समाधानका लागि तीन तहका सरकारबीच समन्वय प्रयास गरेका थिए। तर, आवश्यक पूर्वाधार निर्माण र स्थायी निकासको व्यवस्था हुन नसक्दा समस्या अझै समाधान हुन सकेको छैन।

Back to top