सर्लाही। चन्द्रनगर गाउँपालिकामा ६ सय विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीको संरक्षणका लागि झोला वितरण गरिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको पढाइमा सहजता ल्याउने र शैक्षिक सामग्रीलाई सुरक्षित राख्ने उद्देश्य राखेको छ।
झोला वितरण कार्यक्रम विभिन्न विद्यालयमा आयोजना गरिएको थियो, जसमा चन्द्रनगर गाउँपालिका वडा १ स्थित प्रा.वि. लघुवा, वडा २ को सरस्वती प्रा.वि. दनुवारीटोल, वडा ३ को जनता प्रा.वि. कोरियाहीटोल, राजा अभिषेक प्रा.वि. बडकुर्वा, र राम जनता आधारभूत विद्यालय बडकुर्वाका विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार महतो, वडा अध्यक्ष सिताराम महतो, निमित्त वडा अध्यक्ष रन्जित साह, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र लिलि लिभ्सका प्रतिनिधिहरूको प्रमुख उपस्थिती थियो।
गाउँपालिका अध्यक्ष राज कुमार महतोले कार्यक्रममा बोल्दै भने, "हामीले विद्यार्थीहरूको शैक्षिक सामग्रीलाई सुरक्षित राख्नका लागि यो पहल शुरु गरेका छौं। यसले विद्यार्थीहरूको पढाइमा सहजता ल्याउनेछ र उनीहरूलाई पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्री सुरक्षित राख्न मद्दत पुर्याउनेछ।"
वडा अध्यक्ष सिताराम महतो र निमित्त वडा अध्यक्ष रन्जित साहले पनि कार्यक्रमको महत्त्वपूर्णता र स्थानीय बालबालिकाहरूको शैक्षिक अवस्थालाई सुधार्नका लागि उठाइएका कदमहरूको सराहना गरे।
कार्यक्रममा लिलि लिभ्सका प्रतिनिधिहरूले विद्यालयका बालबालिकाहरूलाई अझ थप शैक्षिक सहायता र सुविधाहरू उपलब्ध गराउने वचन दिएका छन्। शिक्षा शाखाका देन कुमार महतोको पनि कार्यक्रममा विशेष उपस्थिति थियो।