×

सर्लाही । विवादास्पद तपस्वी भनिने रामबहादुर बम्जन विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा सर्लाही जिल्ला अदालतमा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बम्जनविरुद्ध ८.५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।

बम्जनविरुद्ध यसअघि पनि हत्या र बाल यौन शोषण को आरोपमा मुद्दा चलिरहेको छ। सोही मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-६ स्थित उनको घरमा छापा मार्दा ठूलो मात्रामा नगद बरामद गरेको थियो।

१ वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बम्जनको घरमा छापा मार्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ, १६ देशका विदेशी मुद्रा (जसको मूल्य ३० लाख ९२ हजार रुपैयाँबराबर) र एक थान ल्याण्डक्रुजर गाडी बरामद गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसै आधारमा अवैध सम्पत्तिको स्रोत पत्ता लगाउन मुद्दा दायर गरेको हो।

बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या, बेपत्ता पारेको तथा यौन हिंसा गरेको आरोपमा उजुरी परेपछि २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनीमाथि तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ।

बाराको निजगढ नगरपालिका–१२ बुङ्गजोरका ३५ वर्षीय बम्जनको वास्तविक नाम रामलाल बम्जन हो। सुरुमा उनले निजगढस्थित हलखोरियाको जंगलमा ध्यानमा बसेको दाबी गरेका थिए। पछि उनी सिन्धुलीको कमलामाई नगरपालिका-८ मा जंगल अतिक्रमण गरी आश्रम स्थापना गरी बस्दै आएका थिए। हाल बम्जनविरुद्धको मुद्दा कानुनी प्रक्रियामा अगाडि बढिरहेको छ।

Back to top