×

वीरगञ्ज । समाजवादी युवा सङ्घ मधेस प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले एक भेटघाटका क्रममा खिचिएको तस्बिरलाई गलत सन्दर्भमा प्रस्तुत गरी आफूले पार्टी परिवर्तन गरेको भनी फैलाइएको अफवाहको खण्डन गरेका छन् ।

शुक्रवार अबेर राति जारी गरिएको विज्ञप्तिमा उनले भनेका छन्, “भेटघाटका क्रममा सम्मान स्वरूप खिचिएको तस्बिरलाई गलत व्याख्या गर्दै म जसपा नेपाल छोडेको भनी प्रचार गरिएको छ, जुन पूर्णतः निराधार छ ।”

उनका अनुसार, बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएका असन्तुष्ट नेताहरू रेणु यादव, प्रतिनिधि सभा सदस्य वीरेन्द्र प्रसाद महतो र नेता अशोक यादवले उनलाई भेट्न निम्त्याएका थिए । नेताहरूसँग गरिएको राजनीतिक भेटघाटलाई पार्टी प्रवेश गरेको भनेर अफवाह फैलाइएको भनेर उनले स्पष्ट पारेका छन् ।

चौधरीले थपेका छन्, “भेटघाटपछि सम्मान स्वरूप खिचिएको तस्बिरलाई सामाजिक सञ्जालमा गलत तरिकाले प्रयोग गरेर मलाई असन्तुष्ट नेताहरूसँग नयाँ दलमा प्रवेश गरेको भनी प्रचार गरिएको छ । यस्तो भ्रामक प्रचारप्रति म गम्भीर आपत्ति जनाउँछु ।”

उनले यस्ता भ्रामक समाचारहरूको खण्डन गर्दै भने, “गलत सूचना फैलाउनु अनैतिक कार्य हो । सत्य तथ्य नबुझी गरिएको प्रचारले नेताहरूको बाँकी रहेको विश्वसनीयतालाई थप आघात पुर्‍याएको छ ।”

अन्त्यमा, उनले आफू अझै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र यसको भातृ सङ्गठन समाजवादी युवा सङ्घ नेपालमै क्रियाशील रहेको स्पष्ट पारेका छन् ।

Back to top