सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ निवासी २५ वर्षीय विमलेश महतो र गोडैता नगरपालिका-१० सिसौटियाकी २३ वर्षीया नम्रता साहले दाइजो प्रथालाई अस्वीकार गर्दै आदर्श विवाह गरेका छन्। मधेसमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र जातीय विभाजनलाई चुनौती दिँदै उनीहरूले प्रेम, समानता र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेका हुन् ।
मलंगवा निवासी संजित मण्डलका अनुसार, यदि विमलेशले चाहेको भए २० लाखसम्म दाइजो लिन सक्थे, तर उनले दाइजो स्वीकार नगरी सामाजिक रूपान्तरणको पक्षमा उभिने निर्णय गरे।
बेहुलीका बुवा नरेश साहका अनुसार, यो विवाहले उमेर नपुगी भागेर गर्ने विवाहहरूलाई सकारात्मक वैकल्पिक उदाहरण प्रस्तुत गरेको छ। यस विवाहले प्रेम र समाज सुधारको महत्त्व दर्शाउँदै अन्य युवाहरूलाई प्रेरणा दिनेछ।
बेहुलाका पिता उदि नारायण महतो भन्छन्, "मधेसमा विवाह प्रथामा गहिरो रूपमा जरा गाडेको जातीय सोचलाई परिवर्तन गर्न यस्ता विवाहहरू आवश्यक छन्। यसले परम्परा र आधुनिकतालाई सन्तुलनमा राख्दै समाजलाई समृद्ध बनाउनेछ।"
यस विवाहले मधेसको परम्परागत सोचलाई चुनौती दिँदै दाइजोविहीन र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।