×

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

भारतीय सीमासँग जोडिएको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा बन्दरगाह निर्माणका लागि पहल थालिएको र केही कामसमेत अघि बढिसकेको जानकारी दिए। उनले बाँकी प्रक्रिया छिटो अघि बढाउन सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ को एउटा मुख्य उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास योजनाहरू अघि बढाउने रहेको बताए। सोही अभियानअन्तर्गत भिट्ठामोड सुख्खा बन्दरगाहको विषय पनि प्रमुख एजेन्डा हुने उनले उल्लेख गरे।

कार्यक्रमका क्रममा जलेश्वर उद्योग वाणिज्य संघले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै बन्दरगाह निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्‍यो। संघका अध्यक्ष शिवचन्द्र चौधरीले कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात-निर्यात गर्न जलेश्वर भन्सारबाट भिट्ठामोड सुख्खा बन्दरगाहसम्मको दूरी मात्र २२५ किलोमिटर रहेको उल्लेख गर्दै, यो बन्दरगाह मधेसका सबै जिल्लाका लागि पायक पर्ने स्थानमा हुने जानकारी गराए।

साथै, चौधरीले मणिपाल मेडिकल कलेजका लागि स्थानीयले ३५ बिघा जग्गा सस्तोमा उपलब्ध गराए पनि काम रोकिएको भन्दै तत्काल निर्माण कार्य अघि बढाउन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराए।

अध्यक्ष प्रचण्डले उद्योग वाणिज्य संघका प्रतिनिधिहरूलाई माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिए। साथै, मधेसको समग्र विकासका लागि आवश्यक योजनाहरू अघि बढाउन सरकार र सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

Back to top