×

रौतहट । नेपाल–भारत सीमा क्षेत्रमा हुने लागुऔषध कारोवार, तस्करी तथा अन्य अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्नका लागि आयोजित नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक भारतको विहार राज्य अन्तर्गत सीतामढीमा सम्पन्न भएको छ।

सोमबार सम्पन्न उक्त बैठकमा भारत पक्षबाट सीतामढीका डिएम रिची पाण्डे, एसपी अमित रंजन, एसएसबीका उच्च अधिकारीहरू, स्थानीय प्रशासनिक प्रतिनिधिहरू तथा विरगञ्ज महावाणिज्यदूतावासका काउन्सुल मनिषकुमार दासको उपस्थिति रहेको थियो। नेपालतर्फबाट रौतहट, सर्लाही र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, भन्सार तथा अनुसन्धान निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

बैठकमा खुला सिमानाका कारण हुने चोरी–तस्करी, लागुऔषध तथा मदिरा ओसारपसार, अवैध मुद्रा कारोबार नियन्त्रण लगायतका विषयमा गम्भीर छलफल भएको थियो। साथै, सूचना आदान–प्रदानको सशक्त संयन्त्र, सुरक्षा संवेदनशीलतासम्बन्धी मुद्दा र सीमामा हुने अवाञ्छित गतिविधि रोक्न संयुक्त पहल आवश्यक रहेको कुरामा दुवै पक्ष सहमत देखिए।

बैठकमा हुण्डीसम्बन्धी विषयमा पनि विशेष रूपमा छलफल गरिएको थियो। नेपाली नागरिकहरूले भारतीय बजारमा किनमेल गर्दा दिइने नेपाली रुपैयाँ फिर्ता ल्याउँदा त्यसलाई हुण्डीका रूपमा लिइनु गैरउचित रहेको भन्दै यस समस्याको समाधानका लागि दुबै पक्षबीच मौखिक सहमति बनेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिँदै भने, “दुवै देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सहज आवागमन कायम गर्न सहकार्यका आधारमा काम अघि बढाइने सहमति भएको छ।”

बैठकले सीमा क्षेत्रका नागरिकलाई निर्वाध रूपमा आवतजावत गर्न दिने, सुरक्षा संवेदनशील विषयमा समयमै समन्वय गर्न विशेष जोड दिने तथा समस्याको समाधान सौहार्दपूर्ण रूपमा खोज्ने सहमति जनाएको छ।

यो बैठकले नेपाल–भारतबीचको सीमा सुरक्षामा द्विपक्षीय समन्वय र समझदारीलाई बलियो बनाउने विश्वास लिइएको छ। भविष्यमा यस्ता संयुक्त बैठकलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा देखिने समस्यालाई मिलेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

 

 

Back to top