×

विश्वमा खेती गरिएका विभिन्न फलफूलहरु मध्ये केरा धेरै प्रचलनमा आउने एक महत्वपूर्ण फल हो। यसको उत्पति एसिया महादेशको उष्ण प्रदेशिय क्षेत्र खास गरी भारत,इन्डोनेसिया, फिलीपिन्स र थाइल्यान्डबाट भएको मानिन्छ । भुमध्य रेखाको ३০০ उत्तर र ३०० दक्षिण अक्षाशं भित्र पर्ने सबै जसो देशहरुमा केरा खेती गर्न सकिन्छ। संसारमा सबैभन्दा बढी केरा उत्पादन गर्ने देशहरुमा भारत, चिन, मेक्सिको, ब्राजिल, गवाटेमाला,इन्डोनेसिया, फिलीपिन्स, कोस्टारिका, थाइल्यान्ड आदि पर्दछन। सन् २०२३ को तथ्याङ्क अनुसार विश्वमा १९.१ मिलियन  टन केरा उत्पादन भएकाे थियो ।

नेपालमा मुख्यतया तराई क्षेत्रका साथसाथै भित्री मधेस र पहाडका बैंसिहरुमा केरा खेती गरिन्छ। घरायसी प्रयोजनाका लागी नेपालमा धेरै पहिलेदेखि नै केरा खेती गर्ने गरिए तापनि हाल आएर व्यवसायिक केरा खेती प्रति कृषकहरुको आकर्षण बढ़दै गएको पाइन्छ। हाल नेपालमा चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर,झापा, दाङ, रुपन्देही, बारा, सर्लाही, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा व्यवसायिक रुपमा केरा खेती भईरहेको छ। नेपालमा क्षेत्रफलका हिसाबले आँप र सुन्तला जातकाे फलफूल पछि केरा तेस्रो स्थानमा पर्दछ भने उत्पादनका हिसाबले आपँ पछि दोश्रो स्थानमा पर्दछ।

केरामा उत्कृष्ट घरी प्राप्त गर्न वैज्ञानिक दृष्टिकोण र राम्रो व्यवस्थापन प्रविधिहरू अपनाउनु आवश्यक हुन्छ। बालीको नियमित निगरानी, रोग तथा किरा व्यवस्थापन, र सन्तुलित खाद्य तत्वले उत्पादन वृद्धि गर्न मद्दत गर्छ। किसानले सही जातको चयन गरी उन्नत कृषि प्रविधिहरू प्रयोग गरेर राम्रो गुणस्तर भएको केरा उत्पादन गर्न सक्छन्, जसले गर्दा उनीहरूको आम्दानी पनि बढ्नेछ।

केराको खेतीमा राम्रो उत्पादन र गुणस्तर प्राप्त गर्न सही विधिहरूको पालना गर्नु आवश्यक छ। उत्कृष्ट घरी प्राप्त गर्न उचित व्यवस्थापन प्रविधिहरू अपनाउनु जरुरी हुन्छ। केराको बालीमा अधिकतम र उच्च गुणस्तरको घरी प्राप्त गर्ने उपायहरूको विवरण निम्नानुसार दिइएको छ :-

१. उपयुक्त जातको छनौट 

केरामा राम्रो गुणस्तर र उच्च उत्पादन प्राप्त गर्न उपयुक्त जातको छनौट अत्यन्तै महत्वपूर्ण हुन्छ। भौगोलिक जलवायु र माटोको प्रकृति अनुसार जातको छनौट गर्नुपर्दछ । जस्तै: जी-९ , रोबुस्टा,  होचा क्याभेन्डिश आदी । यी राम्रो र ठूलो घरीका लागि उपयुक्त जातहरू हुन्।

२. जग्गाको तयारी र खाद्य तत्व व्यवस्थापन

(क) जग्गाको तयारी
माटोलाई गहिरो जोताइ गरेर भुरभुरे बनाउनु पर्दछ। राम्रो जल निकास भएको भूमि छनोट गर्नु आवश्यक हुन्छ। स्वस्थ बोटको लागि खेतमा जैविक मल (गोबर मल, भर्मिकम्पोस्ट) वा हरियो मलको अवश्य प्रयोग गर्नु पर्दछ।

(ख) खाद्य तत्व व्यवस्थापन
ठाउँ विशेषका लागि सिफारिस गरिएको नाइट्रोजन, फस्फोरस, र पोटास (NPK) को सन्तुलित मात्रा प्रयोग गर्नुपर्दछ। जैविक मल (अजोस्पिरिलम, पीएसबी) को प्रयोग गर्नु एकदम लाभदायक हुन्छ। बोरन र जिंक जस्ता सूक्ष्म पोषक तत्त्वहरूको प्रयोग गर्नु पनि आवश्यक हुन्छ ।

३. सिँचाइ व्यवस्थापन

केरा पानी व्यवस्थापन प्रति संवेदनशील बाली हो। पानी बचाउँन  र बिरुवालाई निरन्तर चिस्यान प्रदान गर्न ड्रिप सिँचाइ प्रणाली अपनाउनु राम्रो मानिन्छ । खेतमा पानी लामो समयसम्म जम्न दिनु हुँदैन, किनभने यसले जरामा क्षति पुर्‍याउन सक्छ।

४. सरसफाइ र बाली व्यवस्थापन

खेतमा रहेको झारपातलाई समय-समयमा हटाउनु पर्दछ। प्रत्येक बिरुवामा एक मात्र डाँठ राख्नु पर्दछ र अन्य सकर हटाउनु पर्दछ। घरी बन्ने समयमा बिरुवाहरूमा अत्यधिक चाप नपर्ने सुनिश्चित गर्नु पर्दछ ।

५. कृत्रिम र  जैविक सुरक्षात्मक उपाय

(क) रोग र किरा नियन्त्रण पातमा ढुसी नियन्त्रण:  

यसको व्यवस्थापनको लागि कपर अक्सिक्लोराइड वा जैविक  ढुसी नाशक ट्राइकोडर्मा को प्रयोग गर्नुपर्दछ । किरा नियन्त्रण: थ्रिप्स र नेमाटोड जस्ता किराबाट बच्न निममा आधारित कीटनाशकहरू प्रयोग गर्नुपर्दछ।

(ख) मजबुत घरीका लागि स्वास्थ्य बिरुवा 

स्वस्थ बिरुवा भनेको नै स्वस्थ घरी हो। बिरुवालाई रोगमुक्त राख्न एन्टिफङ्गल र एन्टिब्याक्टेरियल उत्पादनहरूको प्रयोग गर्नु आवश्यक हुन्छ ।

६. काँटछाँट तथा भाले फूल हटाउनजब घरी (बन्च) बन्ने चरणमा पुग्छ, तब तल्लो र पुराना पातहरू काट्नु आवश्यक हुन्छ । घरी मुनि बनेका फूलहरू हटाउनु पर्दछ, जसले फलको  तौल र गुणस्तर वृद्धि गर्न मद्दत गर्छ। कीरा र रोगबाट बचाउन घरीमा पोलिब्याग वा बन्च कभर प्रयोग गर्नु लाभदायक मानिन्छ ।

७. हार्मोनको स्प्रे र वृद्धि प्रवर्धकको प्रयोग 

केराको घरीको विकासका लागि सही समयमा उपयुक्त रसायनको स्प्रे गर्दा उत्पादन र गुणस्तरमा सुधार आउँछ। घरीको राम्रो वृद्धि र उच्च गुणस्तरका फल प्राप्त गर्न निम्न रसायनहरूको प्रयोग गर्न सकिन्छ:

क. पोटासियम नाइट्रेट (KNO₃)

डोज: २-३% (२०-३० ग्राम प्रति लिटर पानी)

समय: घरी सेट भएको १५-२० दिनपछि

लाभ: फलको आकार र तौल बढाउने तथा गुणस्तर सुधार गर्ने

ख. जिबरेलिक एसिड (GA₃)

डोज: ५० पीपीएम (५० मिलिग्राम प्रति लिटर पानी)

समय: घरी बनेपछि तुरुन्तै

लाभ: फलको लम्बाइ र समानता सुधार गर्ने

ग. पोटास र सूक्ष्म पोषकतत्त्व (जिंक, बोरन)

डोज: १-२% पोटास र ५% जिंक सल्फेट/बोरिक एसिड

समय: घरी सेट भएको ३०-४५ दिनपछि

लाभ: फलको मिठास र चमक बढाउने

घ. युरिया वा नाइट्रोजन स्प्रे

डोज: १% (१० ग्राम प्रति लिटर पानी)

समय: घरी बनेपछि १५ दिनपछि

लाभ: फलको विकासलाई प्रवर्द्धन गर्ने

अतिरिक्त सुझावहरू:

अ. स्प्रे बिहान वा साँझ गर्नु पर्दछ ताकि रसायन राम्रोसँग अवशोषित होस्।

आ. स्प्रे गर्नुअघि बिरुवामा पर्याप्त पानीको आपूर्ति हुनुपर्छ।

इ. मिश्रण बनाउँदा उचित सावधानी अपनाउनु पर्दछ र सिफारिस गरिएको मात्रा मात्र प्रयोग गर्नु पर्दछ ।

८. सहारा दिनु

बिरुवाहरूलाई लडाउनबाट बचाउनका लागि तिनीहरूलाई बाँस वा प्लास्टिकको डोरीबाट सहारा दिनु आवश्यक हुन्छ । भारी घरी बन्ने समयमा बिरुवाहरूलाई विशेष रूपमा सहारा दिनु अत्यन्त आवश्यक हुन्छ।

९. काट्ने समयको चयन

घरीलाई सही समयमा काट्न सुनिश्चित गर्नु एकदम जरूरी हुन्छ । जब फलको सतह चिल्लो हुन्छ र धारि कम हुन्छन् , तब मात्र घरी काट्नु उचित मानिन्छ ।

१०. भण्डारण र बजारीकरण 

काटेपछि फललाई छायादार स्थानमा राख्नु पर्दछ। ग्रेडिङ्ग र प्याकेजिङमा ध्यान दिनु एक्दम जरूरी हुन्छ । फलको गुणस्तर कायम राख्नका लागि फललाई उचित तापमान (११-१३ डिग्री सेल्सियस) मा भण्डारण गर्नु आवश्यक हुन्छ ।

इस्तखार अंसारी  कृषि स्नातक, सुदुर पश्चिमाञ्चल विश्वविद्यालय कृषि विज्ञान संकाय, टीकापुर कैलाली

Back to top