×

रौतहट । रौतहट प्रहरीले सोमबार स्रोत नखुलेको ठूलो मात्रामा नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मौलापुर नगरपालिका–६ परशुरामपुर सडकखण्ड नजिकै जाँचका क्रममा भारतबाट अवैध रूपमा भित्रिएको रकमसहित भारत बिहार मोतिहारी जिल्लाको कुन्डवा चैनपुर ग्राम पंचायतका २१ वर्षीय राज किशोर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार ठाकुरको साथबाट ८ लाख नेपाली रुपैयाँ र बीआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। बरामद रकममध्ये ५०० रुपैयाँ दरका ६ लाख, २ सय दरका १ लाख र १ सय दरका १ लाख नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठाकुरले उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले हालै सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण कडाइका साथ गरिरहेको जनाउँदै यस घटनालाई गम्भीर रूपमा लिएको छ।

यसैबीच, प्रहरीले ठाकुरसँग बरामद रकमको स्रोत, रकम नेपाल भित्र्याउने उद्देश्य र सम्भावित संलग्न समूहबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा सुन तस्करी, अवैध मुद्रा कारोबार र लागूऔषध ओसारपसारलगायत आपराधिक गतिविधि सक्रिय हुँदै गएको भन्दै थप सतर्कता अपनाउने जनाएको छ।

प्रहरीका अनुसार यो घटनाले सीमा सुरक्षामा अझ कडाइ आवश्यक रहेको संकेत गरेको छ र भित्री सञ्जालको पहिचानका लागि छानबिनको दायरा विस्तार गरिने तयारी भइरहेको छ।

Back to top