×

सर्लाही । मलंगवा नगरपालिका वडा नं. ०७ मुसैलिमा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ का योजना खर्च विवरण तथा कर्मचारीको विवरण सार्वजनिक नगरिएकोप्रति आपत्ति जनाउँदै जसपा नेपालबाट वडा अध्यक्ष पदका उम्मेदवार बिबेक कुमार यादवले सशक्त आन्दोलनको चेतावनी दिएका छन्।

बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा यादवले नगरपालिकाको लेखा शाखाले प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आदेश विपरीत विवरण नपठाएको आरोप लगाए। उनका अनुसार, वैशाख १४ गते नै नगर प्रमुख नागेन्द्र प्रसाद यादवसमक्ष निवेदन पेश गरिएको थियो, जसमा लेखा शाखालाई आवश्यक विवरण उपलब्ध गराउन स्पष्ट निर्देशन दिइएको थियो।

"जनताको करबाट सञ्चालित योजनाको विवरण लुकाउनु गम्भीर अनियमितताको संकेत हो," यादवले भने, "यदि शीघ्र विवरण सार्वजनिक भएन भने चरणबद्ध सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं।"

उनले योजना खर्च तथा कर्मचारी विवरण माग गर्नु व्यक्तिगत नभई जनताको अधिकार भएको स्पष्ट पार्दै नगरपालिका प्रशासन जनउत्तरदायित्वबाट विमुख भएको आरोप लगाए।

यादवले वडा अध्यक्ष ईसा मिकरानीमाथि पारदर्शिताको अभाव, योजनामा मनोमानी, र पदको दुरुपयोगजस्ता गम्भीर आरोप लगाए। उनका अनुसार मिकरानीले आफ्ना छोरालाई उपभोक्ता समिति अध्यक्षमा र बुहारीलाई कम्प्युटर अपरेटरमा नियुक्त गरी तलब भुक्तानीसमेत गरेका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा नाला निर्माणका लागि विनियोजित १५ लाख रुपैयाँ बजेट फ्रिज भएको र चालू वर्षमा पनि २० लाख रुपैयाँ फ्रिज हुने स्थितिमा पुगेको उनले जानकारी दिए।

यादवले चालु आर्थिक वर्षमा पहिल्यै सिचाइ सुविधा रहेको क्षेत्रमा पुनः डिप ट्युबवेल जडान गरिएकोप्रति आपत्ति जनाउँदै स्रोतको दुरुपयोग भएको बताए।

"जहाँ पहिल्यै सिचाइ आयोजना सञ्चालनमा छ, त्यही ठाउँमा फेरि ट्युबवेल जडान गर्नु जनताको आँखामा धुलो हाल्ने काम हो," उनले टिप्पणी गरे।

वडा अध्यक्ष मिकरानीले एक भारतीय नागरिकको नाममा नेपाली नागरिकता सिफारिस दिएको आरोपसमेत यादवले लगाए। सो विषय हाल अदालतमा विचाराधीन रहेको भए पनि यसले स्थानीय नेपाली नागरिकहरूलाई अनावश्यक झन्झटमा पारेको उनले बताए।

उनका अनुसार, अहिले जिल्ला प्रशासन कार्यालयले वडा सिफारिसलाई स्वतः स्वीकार नगरी पुनः सहरजमिन प्रमाणित गर्नुपर्ने व्यवस्था ल्याएको छ, जसले दर्जनौं नागरिकलाई प्रभाव पारेको छ।

विदेशीलाई नागरिकता सिफारिस गर्नु राष्ट्रघाती कार्य भएको उल्लेख गर्दै यादवले मिकरानीमाथि कानुनी कारबाहीको माग गरे। उनका अनुसार, पत्रकार सम्मेलनको उद्देश्य योजनामा पारदर्शिता, सुशासन र जनउत्तरदायिता सुनिश्चित गर्नु रहेको छ।

Back to top