×

रौतहट । कटहरिया नगरपालिका–५ मा एक नवविवाहिता मुस्लिम महिलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य आरोपी फरार भएका छन्। मृतक २१ वर्षीया सानिया प्रविनको दाइजोको कारण हत्या भएको भन्दै माइती पक्षले न्यायको माग गरेका छन्। सानियाको विवाह मात्र ६ महिना अघि अरमान राय भाटसँग भएको थियो।

आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव फेला परेको थियो। तर, माइती पक्षले आत्महत्या नभई सासू–ससुरा र श्रीमानले मिलेर घाँटी थिची हत्या गरेको आरोप लगाएका छन्।

मृतकका बाबु महमद मोलाजीम रौशनका अनुसार छोरीलाई दाइजोको कारण पटक–पटक कुटपिट गरिन्थ्यो। विवाहका बेला सम्पूर्ण फर्निचर, सुनका गहना, विद्युतीय सामग्री दिए पनि ज्वाइँ पक्षको थप माग नपुगेपछि छोरीको हत्या गरिएको उनले आरोप लगाए।

घटनाको एक दिनअघि छोरी सानियाले खुसी हुँदै माइती जान तयारी भएको जानकारी दिएकी थिइन्। तर, त्यसको केही घण्टामै हत्या भएको माइती पक्षको भनाइ छ। मृतककी अर्की बहिनी नगमा प्रविनका श्रीमान लालबाबु राय भाटले पनि अनुसन्धानका क्रममा सानियाको श्रीमान अरमान दोषी रहेको बयान दिएका छन्।

प्रहरीले मुख्य आरोपी अरमान राय भाटको खोजी गरिरहेको बताएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले फरार व्यक्तिको खोजी भइरहेको र अनुसन्धानमा कुनै दबाब नमानिने बताएका छन्। उनले मुद्दा दर्ता नगर्न दबाब दिने विभिन्न व्यक्तिहरूबाट सिफारिस र प्रस्ताव आएको स्वीकार गर्दै न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।

सानियाको शवको पोस्टमार्टम गरिएको छ भने माइती पक्षले अन्त्येष्टि गरिसकेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित पक्ष र स्थानीय समुदायले जोडदार माग गरेका छन्।

Back to top