×

नयाँदिल्ली । बलिउडका भाइजान सलमान खानको घरमा फेरि एक व्यक्तिले घुसपैठ गरेको घटना बाहिर आएको छ । प्रहरीका अनुसार यो घटना मे २० को हो । प्रहरीले बिहीबार मात्रै यसबारे सार्वजनिक गरेको थियो ।

अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २३ वर्षीय आरोपीको नाम जितेन्द्रकुमार हो । उनी छत्तिसगढका बासिन्दा हुन् । २ दिनमा यस्तो खालको यो दोस्रो घटना हो ।

मे १९ मा ईशा छाबडा नामकी एक महिलाले पनि ग्यालेक्सी अपार्टमेन्टमा प्रवेश गर्ने प्रयास गरेकी थिइन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै घटनामाथि अनुसन्धान जारी छ ।

सलमानको सुरक्षामा तैनाथ प्रहरी अधिकारी सन्दीप नारायणको उजुरीमा बान्द्रा प्रहरीले एफआईआर दर्ता गरेको छ । मे २० मा बिहान ९ः ४५ बजे ग्यालेक्सी अपार्टमेन्ट भवन वरिपरि एक अपरिचित व्यक्ति घुमिरहेको देखिएका थिए ।

प्रहरीले उनलाई सम्झाएर त्यहाँबाट अन्यत्र जान भनेका थिए । तर यो सुनेर आरोपीले आफ्नै मोबाइल भुइँमा फ्याँकेर फुटाइदिए । 

ती व्यक्ति फेरि साँझ ७ः १५ बजे ग्यालेक्सी अपार्टमेन्टको मुख्य ढोकामा आए र भवनमा बस्ने एक व्यक्तिको कारमा गेटभित्र छिरे । घटनास्थलमा उपस्थित प्रहरी हवलदारहरूले तुरुन्तै पक्राउ गरे र बान्द्रा प्रहरीलाई बुझाए ।

गतवर्ष अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो । लरेन्स ग्याङले यो आक्रमणको जिम्मेवारी लिएको छ ।

यस घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । यीमध्ये एक अभियुक्तले आत्महत्या गरेका छन् । 

Back to top