×

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–४ का ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको एक महिनासम्म पनि पीडित परिवारले न क्षतिपूर्ति पाएका छन्, न त दोषीमाथि कारबाही भएको छ।

आइतबार पत्रकार सम्मेलनमार्फत पीडित परिवार र स्थानीय समाजिक अगुवाहरूले सुरक्षा निकाय र सरकारी वकिलमाथि मिलेमतोमा मुद्दा दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

गत वैशाख २४ गते, सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवल्दार सुवास सिंहले चिनी तस्करको पछ्याइमा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR–30–7936) द्वारा ठक्कर दिँदा अनुठा राय गम्भीर घाइते भएका थिए। उनलाई वीरगञ्जस्थित गण्डक अस्पतालमा भर्ना गरिए पनि केही दिनमै निधन भएको थियो।

मोटरसाइकलमा सवार राम जिनिस साह पनि घाइते भएका थिए। हाल उनी अस्पतालबाट फर्किए पनि बैशाखीको सहारामा हिँडिरहेका छन्।

मृतक परिवारका अनुसार इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिए पनि हालसम्म कुनै दोषीमाथि कारबाही भएको छैन। छोरा राजेश यादवले नेताहरूले सुरुमा क्षतिपूर्ति दिलाउने आश्वासन दिए पनि पछि सम्पर्कविहीन भएको गुनासो गरे।

डीएसपी राजन कार्कीका अनुसार, घटनाका मुख्य दोषी अर्जुन उर्फ गोपाल बैठा (फतुवा विजयपुर–४) हुन् र उनी फरार छन्। हवल्दार सुवास सिंह पनि अनुसन्धानको दायरामा रहेको जानकारी दिए।

तर प्रत्यक्षदर्शीहरू र घाइते साहको भनाइ अनुसार, दुर्घटनाको जिम्मेवारी सुवास सिंहकै रहेको हो। उनीहरूले अस्पतालमा जबरजस्ती अर्को व्यक्तिको नाममा दोष सार्न प्रहरीद्वारा दबाव दिएको दाबी गरेका छन्।

पीडित परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा चरणबद्ध धर्ना तथा विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।

स्थानीयवासीहरू पनि सुरक्षाकर्मी संलग्न घटनामा कारबाहीमा ढिलासुस्ती भएकोप्रति असन्तुष्टि जनाइरहेका छन्। एक स्थानीयले भने, “सामान्य नागरिकको संलग्नतामा दुर्घटना भयो भने तुरुन्त पक्राउ हुन्छ, तर सुरक्षाकर्मी संलग्न हुँदा राज्य मौन बस्छ।” पीडित पक्षको चेतावनी स्पष्ट छ — “हामी गरिब भएर यस्तो व्यवहार गरिएको हो भने चुप लाग्दैनौं। न्यायका लागि अन्तिमसम्म लड्नेछौं।”

Back to top