×

अरुण साह र सञ्जय साह ।

वीरगञ्ज । ठगी आरोपमा रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उजुरी परेपछि उनीविरुद्ध रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति लिएको हो ।

ठगी आरोपमै प्रहरीले काठमाडौँस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली प्रमुख सञ्जय साह, काठमाडौँ नागार्जुन-४ का विमलादेवी श्रेष्ठ र छोरा धिरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिइएको इलाका प्रहरी गरुडाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीले जानकारी दिए ।

गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । ‘जग्गा बैना गरेर खरिद, बिक्रीमा टोखा नापी प्रमुख साह सहितका मानिसहरू जोडिएका छन्,’ डिएसपी कार्कीले भने,‘पीडित सन्तोषले जग्गा खरिद गर्न १ करोड १० लाख पैसा जम्मा गरेको देखिन्छ । जग्गा खरिद बिक्रीमा बदनियत देखिएकाले ठगीमा अनुसन्धान अघि बढाएका छौँ ।’

टोखा नापी प्रमुख साहलाई पक्रन गरुडा प्रहरीले काठमाडौँ प्रहरी परिसरलाई पत्र पठाएको छ । नापीका प्रमुख साह असार १५ गतेसम्म बिदामा बसेको नापी कार्यालय डिल्लीबजारका निमित्त प्रमुख प्रकाश ओलीले जानकारी दिए । ‘टोली प्रमुख साहविरुद्ध पक्राउ पुर्जी जारी भएको र साहलाई प्रहरी कार्यालय हाजिर हुन भनेर पत्र आएको छ,’ उनले भने,‘अहिले बिदामा रहेकोले हामीले जानकारी गराउन पाएका छैनौँ । बिदा सकिएर आएपछि उहाँलाई पक्राउ पुर्जीबारे भन्छौ ।’

आफू ठगिएपछि नापी अधिकृत साहबाट साँवा र ब्याज गरी १ करोड ४० लाख फिर्ता गराइदिने भन्दै दुर्गाभगवतीका पूर्व अध्यक्ष साहले १० लाख लिएको भन्दै सन्तोषले गरुडा प्रहरीमा जाहेरी दर्ता गराएपछि पूर्व अध्यक्ष साहमाथि पनि पक्राउ पुर्जी जारी भएको हो ।

रौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ मा प्रमुख हुँदा अकुत सम्पत्ति कमाएको आरोप पनि उनीमाथि लागेको थियो । तर त्यसमा अनुसन्धान भएको छैन । त्यसै बेला नापी प्रमुख साह र चौधरीबिच चिनजान भएको थियो । त्यसपछि काठमाडौँको नागार्जुन-४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कट्टा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको सन्तोषले सुनाए ।

Back to top