×

सर्लाही । आषाढ ८ बलरा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड ८९ लाख ८५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख रामाशंकर कुशवाहाले नगरसभाको १५औं अधिवेशनमा नीति, कार्यक्रम तथा आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।

नगरसभामा पूर्व संविधानसभा सदस्य शिवपुजन राय प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले नगरपालिकाले प्राथमिकता क्षेत्र पहिचान गरेर बजेट तर्जुमा गर्नु सकारात्मक प्रयास भएको बताएका छन्।

यस वर्षको नारा "शिक्षित नागरिक, स्वस्थ परिवार, सबल सुरक्षित पूर्वाधार, कृषि, उद्योग, ऊर्जा, सिचाइ, रोजगार र सुरक्षा – अबकी बार!" तय गरिएको छ। प्रमुख कुशवाहाले नगरवासीका आवश्यकता, वडाबाट आएका योजना र दीर्घकालीन विकास दृष्टिकोणका आधारमा नीति तथा कार्यक्रम तयार गरिएको बताए।

संघीय, प्रदेश र आन्तरिक स्रोतबाट आय,संघीय आय: रु. ७२ करोड २७ लाख २३ हजार,प्रदेश सरकारबाट: रु. ३ करोड २२ लाख ६१ हजार,आन्तरिक श्रोतबाट: रु. १ करोड ४० लाख
 कुल अनुमानित आय–व्यय: रु. ७६ करोड ८९ लाख ८५ हजार ६६८ छन्।

बजेटका प्राथमिकता क्षेत्रहरू शिक्षा: रिक्त दरबन्दी पूर्ति र गुणस्तरीय शिक्षा प्रवाह,स्वास्थ्य: आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण,कृषि र सिचाइ: कृषकलाई प्रविधि, सिचाइ सुविधा र अनुदान,युवा तालिम: ५०० बढी युवायुवतीलाई सीपमूलक तालिम,पूर्वाधार: कार्यपालिकाको भवन सुदृढीकरण, वडा कार्यालय सुधार छन्।

प्रमुख कुशवाहाले योजना बैंकमा समेटिएका प्रस्तावहरूलाई संघ र प्रदेश सरकारसँग समन्वय गरी बजेट माग गरेर कार्यान्वयन गरिने जानकारी दिए। कार्यक्रमको अन्त्यमा उनले नीति तथा कार्यक्रम निर्माणमा योगदान दिने सबैलाई धन्यवाद दिँदै कार्यान्वयनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे।

Back to top