चेन्नई । तमिल अभिनेता श्रीकान्तलाई लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। उनलाई सोमबार चेन्नईको नुंगमबक्कम प्रहरीले पक्राउ गरेको हो।
द हिन्दूको रिपोर्ट अनुसार, श्रीकान्तले लागुऔषध सञ्जालबाट कोकेन किनेको प्रहरीले बताएको छ। यस सञ्जालमा हालै पक्राउ परेका घानाका एक नागरिक पनि समावेश छन्। यस मुद्दामा अर्का अभिनेता कृष्णको नाम पनि बाहिर आएको छ, जो हाल केरलामा रहेको आशङ्का गरिएको छ।
चेन्नईका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार श्रीकान्त हालै पक्राउ परेका तीन लागुऔषध अपराधीहरूसँग निरन्तर सम्पर्कमा थिए। अनुसन्धानले श्रीकान्तले कोकेन किनेको र सेवन गरेको पनि खुलासा गरेको छ। मुद्दाको अनुसन्धान जारी छ।
नुङ्गमबक्कम ताल क्षेत्रमा रहेको श्रीकान्तको घरको खानतलासी गर्दा प्रहरीले थोरै मात्रामा कोकेन फेला पारेको थियो। सोमबार बिहान सोधपुछको लागि उनलाई हिरासतमा लिइएको थियो र राजीव गान्धी सरकारी अस्पतालमा उनको परीक्षण पोजेटिभ आएपछि उनलाई पक्राउ गरिएको थियो।
श्रीकान्तलाई श्रीराम कृष्णमाचारी पनि भनिन्छ। उनले २००२ मा तमिल फिल्म 'रोजा कूटम' बाट फिल्ममा डेब्यू गरेका थिए। उनले 'अप्रिल मधाथिल', 'पार्थिबन कनावु', 'ओक्रिकी ओकारु' र '३ इडियट्स' को तमिल रिमेक 'नानबन' जस्ता फिल्ममा काम गरेका छन्। उनले नन्दी र फिल्मफेयर अवार्ड प्राप्त गरेका छन्।