नयाँ दिल्ली । बलिउड अभिनेता विजय वर्माको प्रेम जीवन फेरि एक पटक चर्चामा छ । गएको मार्चमा उनी तमन्ना भाटियासँगको ब्रेकअपको कारण हेडलाइनमा छाए । केही महिनाको ब्रेकअप पछि अभिनेताको जीवनमा फेरि नयाँ प्रेम प्रवेश गरेको छ ।
विजय अब आमिर खानकी अभिनेत्री फातिमा सना शेखलाई डेट गर्दैछन् भन्ने हल्ला चलिरहेको छ । हालै उनीहरू मुम्बईको एक क्याफे बाहिर सँगै देखिए । त्यसबेला दुवैले हाँस्दै, मुस्कुराउँदै र एक अर्कालाई अङ्कमाल गरेको देखिएको थियो ।
दुवैको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यसबेलादेखि फ्यानहरूले दुईबिच केही चलिरहेको छ कि भनेर अनुमान गरिरहेका छन् । यद्यपि, अहिलेसम्म विजय र फातिमा दुवैले यी हल्लाबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
गुस्ताख इश्कमा स्क्रिन शेयर गर्दैछन् विजय–फातिमा
विजय वर्मा र फातिमा सना शेख छिट्टै फिल्म गुस्ताख इश्कमा एकसाथ देखिँदैछन् । यो फिल्मलाई विभु पुरीले निर्देशन गर्दैछन् । फिल्ममा नसिरुद्दीन शाह र शरीब हाश्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैछन् ।
यो फिल्म प्रसिद्ध डिजाइनर मनीष मल्होत्राको स्टेज ५ प्रोडक्सन अन्तर्गत बनेको तेस्रो फिल्म हो । मनिषले २०२३ को सेप्टेम्बरमा यो प्रडक्शन हाउस खोलेका थिए ।
विजय वर्मा र तमन्ना भाटियाको अफेयर गत वर्ष पनि समाचारका हेडलाइनमा थियो । २०२३ मा नेटफ्लिक्समा आएको वेब सिरिज ‘लस्ट स्टोरीज २’ यता यी दुईको सम्बन्ध चर्चामा थियो ।
सोही वर्ष तमन्नाले फिल्म कम्प्यानियनलाई दिएको एक अन्तरवार्तामा आफ्नो सम्बन्धको पुष्टि गरेकी थिइन् । तर २०२४ को मार्चमा दुवैको ब्रेकअप भयो ।
आपसी सम्मान र मित्रता कायम राख्दै दुवैले अलग हुने निर्णय गरेको भनिएको थियो । तमन्नाले चाँडै विवाह गर्न चाहेको तर विजयले नमान्दा दुईबिच मतभेद भएको खबर पनि आए । तर अहिलेसम्म पनि ब्रेकअपका यी कुनै दाबी पुष्टि भएका छैनन् ।