वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको छ। सार्वजनिक नतिजामा पर्सा जिल्लाबाट सहभागी विद्यार्थीमध्ये यस वर्ष नियमिततर्फ ३२.४९ प्रतिशत र प्राविधिकतर्फ १५.७१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्।
गत वर्षको तुलनामा उत्तीर्ण हुनेको प्रतिशत केही वृद्धि भए पनि समग्र नतिजा अझै पनि उत्साहजनक छैनन् भन्ने शिक्षा विज्ञहरूको टिप्पणी छ। गत वर्ष पर्सामा २७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए।
शिक्षा विज्ञ अनन्तकुमारलाल दासका अनुसार, “यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा केही राम्रो देखिए पनि अझै पनि यो सन्तोषजनक छैन। गुणस्तरीय शिक्षाको अभाव र तयारीको कमजोरी देखिन्छ।”
नतिजाको विवरण यसप्रकार छ: नियमिततर्फ: सहभागी विद्यार्थी: १०,०२३ जना, उत्तीर्ण: ३,२५७ जना (३२.४९%), ४.० जिपिए ल्याउने: ८ जना, ३.६–४.० जिपिए: ४५२ जना, ३.२–३.६ जिपिए: ९२६ जना, २.८–३.२ जिपिए: १,२६८ जना, २.४–२.८ जिपिए: ५८८ जना, २.०–२.४ जिपिए: २३ जना छन्।
प्राविधिकतर्फ: सहभागी विद्यार्थी: २१० जना, उत्तीर्ण: ३३ जना (१५.७१%), श्रेणीविहीन: १७७ जना, ३.६–४.० जिपिए: ४ जना, ३.२–३.६ जिपिए: १२ जना, २.८–३.२ जिपिए: १७ जना छन्।
यस वर्ष पर्साबाट सामुदायिक विद्यालयतर्फबाट ९,०४० जना र संस्थागत विद्यालयतर्फबाट २,३६४ जना विद्यार्थीले एसईईमा सहभागिता जनाएका थिए।
पर्सामा यस पटक पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको संख्या सीमित देखिएको छ। यो परिणामले जिल्लाको शैक्षिक अवस्था सुधार गर्न अझ गहिरो ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।