×

वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउने तयारी गरिएको छ।

सडक डिभिजन हेटौंडाले वीरगञ्ज महानगरपालिकासँग आवश्यक सहयोग माग गर्दै पत्राचार गरेको हो। सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंमार्फत सडक डिभिजन हेटौंडाले मिति २०८३ असार ५ गते वीरगञ्ज महानगरपालिकालाई पत्र पठाएको जनाएको छ।

डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित पत्रमा मिति २०८३ असार ७ गतेदेखि त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका स्थायी तथा अस्थायी घरटहरा हटाउने कार्य गरिने उल्लेख गरिएको छ।

सडकको निर्धारित सीमाभित्र रहेका संरचना हटाउने क्रममा शान्ति–सुरक्षा व्यवस्थापन, समन्वय तथा आवश्यक सहजीकरणका लागि वीरगञ्ज महानगरपालिकासँग सहयोग माग गरिएको पत्रमा उल्लेख छ।

सडक विस्तार तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन हुन लागेको उक्त अभियानबाट सडक अतिक्रमण नियन्त्रण, आवागमन सहजता तथा सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।

यसअघि पनि त्रिभुवन राजपथअन्तर्गत विभिन्न स्थानमा सडक सीमा अतिक्रमण हटाउने अभियान सञ्चालन हुँदै आएको थियो। अब सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको क्षेत्रमा पनि सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्न लागेको हो।

Back to top