वीरगञ्ज । एसियाली विकास बैंक (एडिबी) ले नेपालका विभिन्न नगरपालिकामा खानेपानी आपूर्ति तथा सरसफाइ प्रणाली सुदृढीकरणका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।
‘एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना’ अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममार्फत देशका १३ जिल्लाका करिब ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखिएको छ।
तीव्र सहरीकरणका कारण स्वच्छ खानेपानी र आधारभूत सरसफाइ सेवाको अभाव झेलिरहेका सहरी समुदायलाई लक्षित गर्दै परियोजना अघि बढाइएको हो। परियोजनाले खानेपानी आपूर्ति प्रणालीको विस्तार, ढल व्यवस्थापनको सुधार तथा सरसफाइ सेवाको पहुँच अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एडिबीका नेपालस्थित कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले तीव्र सहरी चापका कारण आधारभूत सेवाबाट वञ्चित समुदायमा स्वच्छ खानेपानी र सरसफाइको पहुँच विस्तार गर्न यो परियोजना महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार परियोजनाले सहरी क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्नुका साथै स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न मद्दत गर्नेछ। सुरक्षित खानेपानी र प्रभावकारी सरसफाइ प्रणालीको विस्तारले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यस ऋण सहायताले नेपालको सहरी पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने तथा दीर्घकालीन रूपमा दिगो खानेपानी र सरसफाइ व्यवस्थापनको आधार तयार हुने विश्वास गरिएको छ। सरकार र स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने परियोजनाले सहरी क्षेत्रमा आधारभूत सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।